विसं २०३० मा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय बुद्धिजीवी मिलेर आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी संकलन गरी सिंचाई गर्न चुरे पहाडको फेदीमा कृत्रिम रुपमा खाडल खनी ताल बनाइएको हो ।
दशरथ घिमिरे
दशैं–तिहार सकिए । देउसी–भैलोमा रमाउनुभएकी घोराही निवासी रमिता शर्मा वनभोजका लागि जखेरा ताल पुग्नुभयो । उहाँ मात्रै होइन, हिजोआज जखेरा ताल वनभोजका लागि पुग्ने आन्तरिक पर्यटकका कारण भरिभराउ भएको छ ।
त्यतिमात्रै होइन अन्नपात भिœयाएर फुर्सदिला बनेकाहरु घर छेउका पर्यटकीयस्थलमा घुमफिरका लागि पुग्न थालेका छन् । ‘जखेरा वनभोजका लागि राम्रो ठाउँ बनिसकेछ । पहिला भन्दा अहिले धेरै राम्रो भएको रहेछ’– रमिताले भन्नुभयो– ‘रमाउनका लागि नजिकको गतिलो गन्तब्य स्थल जखेरा बनिसकेको छ ।’ लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल जिल्लाकै उत्कृष्ट पर्यटकीय केन्द्रका रुपमा परिचित भएको छ । तालको मनमोहक दृश्यले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । चुरे पहाडको फेदमा रहेको पूर्व तथा पश्चिम सिमानामा वन तथा जङ््गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ तथा उत्तरतर्फ चुरे पहाड र सो पहाडकोबीचमा पर्ने जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको हो ।
ताल अवलोकन गरेर फर्कनेलाई फेरि जाउँ–जाउँ लाग्ने हुने गरेको छ । तालमा मोटरबोट सञ्चालनमा छन् । एकैछिनमा तालको फन्को लगाउन सकिन्छ । जसले गर्दा आन्तरिक पर्यटकहरु आकर्षित हुने गरेका हुन् । दैनिक तीन सयदेखि माथिको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जखेरा ताल संरक्षण प्रतिष्ठानका सदस्य केशवराज पोख्रेलले बताउनुभयो । ‘जखेराको रौनक थपिदो छ । भ्रमणमा आउने पर्यटकहरु बढिरहनुभएको छ’– उहाँले भन्नुभयो– ‘पर्यटकहरुको रोजाइको केन्द्र जखेरा बनिरहेको छ ।’ तालमा डुंगा शयर गर्ने मात्रै नभएर त्यहँँ रहेका माछाहरुलाई चारो खुवाएर रमाउने पर्यटकहरु पनि बढिरहेको पाइएको छ ।
‘कुनै समय पानी सिंचाई गर्ने पोखरीको रुपमा रहेको ताल संरक्षणले गर्दा चर्चामा छ । यो यहाँको किसानहरुको खेतीपातीको लागि बरदान सावित भएको छ भने आन्तरिक पर्यटकहरुको भ्रमणको स्थल बनेको देख्दा खुशी लागेको छ’– पूर्वसांसद रेवतीरमण शर्माले भन्नुभयो– ‘हिजोको जखेरा र अहिलेको जखेरामा फरक छ ।’ तत्कालीन अवस्थामा चैलाही गाविसबाट दिगो विकास कार्यक्रम अन्तर्गत जखेरा ताल संरक्षणको कार्यक्रम अघि बढेको शर्माले स्मरण गर्नुभयो । यहाँ आउने पर्यटक डुंगा चढेर मन्दिर दर्शन गर्नुले पनि तालको आकर्षणलाई थप बढाएको छ । त्यसैगरी तालको मुख्य आकर्षणमा भगवान् गौमबुद्धको मूर्ति, वनभोजस्थल, फूल बगैंचा, जलविहार, प्राकृतिक पद यात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकनलगायत छन् ।
ताल यति रमणीय छ कि यो देख्दा त फेवा तालको झल्कोसमेत आउने गरेको भ्रमणमा आउनेहरुले बताउने गरेका छन् । विगतका वर्षमा नागरिकको श्रमदान र राज्यका निकायले गरेको सहयोगले नै अहिले ताल जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित भएको हो । तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ । स्थानीय थारु भाषामा आकाशे पानी संकलन भएर जम्मा हुने ठाउँलाई जखेरा भनिन्छ । विसं २०३० मा सोनपुर, टिकुलीगढ, फल्कापुर, श्री गाउँका स्थानीय बुद्धिजीवी मिलेर आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी संकलन गरी सिंचाई गर्न चुरे पहाडको फेदीमा कृत्रिम रुपमा खाडल खनी ताल बनाइएको हो । सोही ताल अहिले जखेरा तालको नाममा परिचित भएको छ । लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करिब दुई किलोमिटर टाढा सो ताल पर्छ ।