राप्ती बबइ क्यापसलाई आंगिक बनाउनु पर्नेमा जोड
शैक्षिक क्षेत्रमा राजनीति गर्न हुँदैन सांसद गिरी
पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद दीपक गिरीले शैक्षिक क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन्। उनले आस्थाका आधारमा राजनीति गर्दा शैक्षिक क्षेत्रको गुणस्तर घट्ने भएकाले यस क्षेत्रमा राजनीति निषेध गर्नुपर्ने बताएका हुन्।
पश्चिम दाङको शैक्षिक धरोहरका रूपमा रहेको राप्ती बबई क्याम्पसको विकासमा आफ्नोसहित धेरै व्यक्तित्वहरूको योगदान रहेको उल्लेख गर्दै गिरीले क्याम्पसलाई गुणस्तर सुनिश्चितताको पुनः प्रमाणीकरण क्यूएए प्राप्त गराउनु सामान्य उपलब्धि नभएको बताए। राप्ती बबई क्याम्पसको ३४औँ वार्षिक उत्सव तथा १९ औँ साधारण सभा कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित गिरीले क्याम्पसका प्राध्यापकहरूलाई विशेष धन्यवाद दिँदै यस क्याम्पसलाई आंगिक क्याम्पस बनाउने पहलमा आफू निरन्तर लागिरहने प्रतिबद्धता जनाए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले क्याम्पसको संरक्षण र प्रवर्द्धनका लागि आफू सधैं तयार रहेको बताए। उनले समयअनुसार नयाँ विषयका कक्षाहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै क्याम्पसको भौतिक संरचनाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए।
विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव शंकरप्रसाद भण्डारीले राप्ती बबई क्याम्पसले शैक्षिक, भौतिक, आर्थिक, र नीतिगत उपलब्धिहरू हासिल गर्दै आएको उल्लेख गरे। देशभरका १०९ क्याम्पसमध्ये क्यूएए प्राप्त गर्ने मध्यपश्चिम क्षेत्रकै एकमात्र क्याम्पस भएकोमा उनले प्रशंसा व्यक्त गरे। सामुदायिक क्याम्पसहरूले बनाएको शैक्षिक क्यालेन्डर कार्यान्वयन गर्न नसक्दा समस्या सिर्जना भएको पनि उनको टिप्पणी थियो।
तुलसीपुर उपमहानगरपालिकाका पूर्वमेयर घनश्याम पाण्डेले क्याम्पसले उद्यमशील जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए। क्याम्पसको गुणस्तर वृद्धिका लागि राजनीतिक पहल गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे।
कार्यक्रममा पूर्व संविधानसभाका सदस्य बुद्धिराम भण्डारी, प्राध्यापक भूपबहादुर बुढाथोकी, गुरुजजुर माविका सहायक प्रधानाध्यापक प्रमोद न्यौपाने, मेट्रो कलेजका प्रमुख बसन्त आचार्य, नेकपा एमाले दाङका सचिव श्याम डाँगी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य, र नेकपा एकीकृत समाजवादीका दिलबहादुर पुन लगायतले शुभकामना मन्तव्य दिएका थिए। वक्ताहरूले राप्ती बबई क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा अगाडि बढाउन जोड दिए।
राप्ती बबई क्याम्पसको पृष्ठभूमि
वि।सं। २०४७ मा स्थापना भएको राप्ती बबई क्याम्पस पश्चिम क्षेत्रकै सबैभन्दा पुरानो सामुदायिक क्याम्पस हो। यहाँ कक्षा ११ र १२, स्नातक, र स्नातकोत्तर तहमा शिक्षाशास्त्र, मानविकी, र व्यवस्थापन संकायका पाठ्यक्रम सञ्चालन हुँदै आएका छन्।
क्याम्पसले आगामी दिनमा प्राज्ञिक कार्यक्रमहरू सञ्चालन गर्ने, प्राध्यापकहरूको क्षमता अभिवृद्धि गर्ने, दिगो आर्थिक स्रोतको व्यवस्था गर्ने, र आन्तरिक शैक्षिक गुणस्तर सुधारका लागि अनुसन्धान तथा प्रविधिमैत्री शिक्षण विधिहरू विकास गर्ने लक्ष्य राखेको छ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षता र उपाध्यक्ष मिनराज वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गरेका थिए।