Spread the love

विज्ञहरूले भने यसलाई कानुनविपरीत भनेका छन् । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा १ अनुसारमात्रै कारबाही गर्न सक्ने व्यवस्था छ

काठमाडौं– माओवादीले ०५२ देखि सुरु गरेपछि सशस्त्र द्वन्द्वका क्रममा गाउँमा कसैले मादक पदार्थ सेवन गरेको पाइएमा ‘जनकारबाही’का नाममा ‘भाटे–कारबाही’ गर्थ्यो ।
माओवादीले कहिले सडक निर्माणमा लगाउँथ्यो त कहिले आफ्नै पाराले कारबाही गर्थ्यो ।
माओवादीले यसरी कानुनविपरीत गरेको कामको त्यसबेला चौतर्फी आलोचना भयो । यतिखेर त्यसरी नै ‘जनकारबाही’को झल्को दिने काम काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले गरेको छ ।
गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर मंगलबार बिहानै एउटा ट्विट गरे– गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयासः अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनाबारीका ४ दिन सडकमा ड्युटी गर्नुपर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयम् सेवकका रुपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।”
लामिछानेले सामाजिक सञ्जालमार्फत् घोषणा गरेको २४ घण्टा बित्न नपाउँदै मापसेसहित ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरीले भटाभट स्वयम् सेवक सडकमा उतार्‍यो ।
ट्राफिकले बुधबार बिहान १० बजेदेखि मापसे, लेन अनुशासन, ओभरस्पिडलगायतका नियम उल्लंघन गरेका १३०६ जनालाई काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा स्वयम्सेवकका रुपमा परिचालित ग¥यो ।
स्वयम् सेवक लेखेको ज्याकेट लगाएर सडकमा उतारेको ट्राफिक प्रहरीले जनाएको छ ।


विज्ञहरूले भने यसलाई कानुनविपरीत भनेका छन् । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा १ अनुसारमात्रै कारबाही गर्न सक्ने व्यवस्था छ । ट्राफिक संकेत वा इशारा उल्लंघन गरेमा, निषेधित ठाउँमा सवारी राखेमा, गलत साइडबाट सवारी चलाएमा, वान वेमा छिरे, मापसे, ओभरस्पिड, पेटी वा हेल्मेट नलगाइ हिँड्नेलगायतमा ट्राफिक प्रहरीले कारबाही गर्न सक्छ ।
यस्तो नियम उल्लंघन गर्ने चालकलाई पाँच सयदेखि १५ सयसम्म जरिबाना गर्न सक्ने व्यवस्था छ । तर नियम उल्लंघन गर्नेलाई कानुनविपरीत सडकमा उतार्न नपाइने विज्ञहरूको धारणा रहेको छ ।
प्रहरीले चार किसिमका नियम उल्लंघन गर्नेलाई यसरी सडकमा उतारेर कारबाही गरेको छ । मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको, लेन मिचेको, ट्राफिक लाइट उल्लंघन गरेको र तीव्र गतिमा सवारी चलाएका व्यक्तिलाई सडकमा उतारेको छ ।
यी चारै प्रकारमा ट्राफिक नियम उल्लंघन गर्दा तीन थरीका कारबाही भोग्नुपर्नेछ । यसरी कारबाहीमा पर्नेहरूलाई प्रहरीले पहिला ‘क्लास’ लिन्छ, जरिबाना तिराउँछ र सडकमा पनि स्वयम् सेवकका रुपमा खटाउँछ ।
यसलाई विज्ञहरूले एउटै कसुरमा प्रहरीले गरेको ‘ज्यादती’ भनेका छन् । नेपाल प्रहरीका पूर्वडीआईजी केशव अधिकारीले यसलाई प्राकृतिक न्यायको सिद्धान्त विपरीत, मानव अधिकारको हनन् भनेका छन् ।
यस्तो गल्ती ट्राफिकले पनि गर्न नहुने उनको सुझाव छ । “जे भइरहेको छ यो प्राकृतिक न्यायको सिद्धान्त विपरीतको काम हो, मानव अधिकारको हनन् हो । ट्राफिक प्रहरीले यसरी खटाउन मिल्दैन । एउटै कसुरमा जरिबाना, कक्षा पनि लिने र स्वयम् सेवामा खटाउने काम बन्द हुनुपर्छ । यसले राम्रो गर्दैन ।”
उनका अनुसार, यो गोपनीयताको हक विपरीतको पनि काम हो । किनकि सडकमा स्वयम् सेवामा खटिएका सबैजनाको पहिचान खुल्नेगरी खटाइएको र व्यक्तिको बेइज्जत गर्नु गोपनीयताको पनि गम्भीर उल्लंघन भएको उनको टिप्पणी छ ।
एकैदिन १३०६ जनालाई यसरी स्वयम् सेवकका रुपमा सडकमा उतारिएको प्रहरीले जनाएको छ । तर ट्राफिक प्रहरीले आफूहरूले कारबाहीस्वरुप नभइ स्वयम् सेवकका रुपमा सडकमा उतारेको जनाएको छ ।
कुन नियमअनुसार मापसेमा पक्राउ परेकालाई सडकमा उतार्नुभएको भन्ने प्रश्नमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले भने– ‘‘हामीले त्यसरी सडकमा उतार्ने नीति छैन । हामीले स्वयम् सेवकका रुपमा प्रयोग गरेका हौँ । हामीले कारबाही गरेका होइनौँ । यसलाई कारबाहीका रुपमा बुझ्नुहुँदैन ।”१२ खरिबाट

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *