प्रधानमन्त्री प्रचण्डको बधाई
प्रधानमन्त्री प्रचण्डले लोकसभामा तेश्रोपटक एनडीए गठबन्धनको भारी मत प्राप्त भएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले लोकसभामा तेश्रोपटक एनडीए गठबन्धनको भारी मत प्राप्त भएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । ‘भारतीय जनताको उत्साहजनक सहभागीतामा विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास सफलतापूर्वक सम्पन्न भएको नोट गर्न पाउँदा हामी खुशी छौँ’ प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन् ।
सत्तासमीकरणबारे छलफल गर्न भाजपा नेतृत्वको एनडिए गठबन्धन र विपक्षी कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनको बैठक बुधबार बस्दै
भारतीय संसद्को तल्लो सदन लोकसभाका ५४३ सदस्यका लागि भएको निर्वाचन परिणामअनुसार त्रिशंकु संसद् बनेको छ । कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत नभएकाले गठबन्धन सरकार बन्ने निश्चित छ । १९ अप्रिलदेखि १ जुनसम्म सात चरणमा भएको निर्वाचनमा क्षेत्रीय दलहरू निर्णायक देखिएका छन् ।
‘अबकी बार चार सय पार’को नारा अघि सारेको भाजपालाई ठूलो धक्का लागेको छ । उसले सामान्य बहुमतको अंक पनि जुटाउन सकेन । विपक्षी गठबन्धन भाजपालाई एकल बहुमत पुग्नुअगाडि नै रोक्न सफल भएको छ । अर्कोतर्फ चुनावी परिणामलाई लिएर टिभीमा प्रसारित सम्पूर्ण एक्जिट पोल गलत साबित भएका छन् ।
निर्वाचनपूर्व नै भारतीय जनता पार्टी नेतृत्वमा राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडिए र भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको इन्डियन नेसनल डेभलपमेन्टल इन्क्लुसिब अलायन्स आइएनडिआइए गठबन्धन बनाएर मैदानमा उत्रेका थिए । यसैका आधारमा भाजपा नेतृत्वको एनडिएले बहुमतको अंक पार गरेको छ ।
सन् २०१४ र २०१९ मा एकल बहुमत लिएको भाजपालाई सरकार बनाउन बैसाखी चाहिने भएको छ । प्रधानमन्त्री मोदीले यसपटक एनडिए गठबन्धनले चार सय सिटभन्दा बढी जित हासिल गर्ने दाबी गरेका थिए । तर, गठबन्धन तीन सयको अंक भेटाउन पनि असफल भएको छ । निर्वाचनमा ९७ करोड मतदाता थिए । तर, मतदानको प्रतिशत अपेक्षाकृत थिएन ।
दुई चुनावमा एक्लै बहुमत हासिल भएको भाजपा बहुमतबाट घटेर भारतको सबैभन्दा ठूलो दलमा सीमित भएको छ । भाजपाले सत्ताको दुरुपयोग गरेर विपक्षीमाथि उत्पीडन गरेको आरोप थियो । विपक्षी दलहरूले मोदीको कार्यशैलीको आलोचना गर्दै आएका छन् ।
५४३ भारतीय लोकसभामा सरकार गठन गर्न आवश्यक २७२ मत चाहिन्छ । राजनीतिक घटनाक्रममा नाटकीय परिवर्तन नभए अब एनडिए गठबन्धनको सरकार गठन हुनेछ । भाजपाबाट प्रधानमन्त्रीका उम्मेदवारका रूपमा नरेन्द्र मोदी छन् ।
एनडिए गठबन्धनका सहयोगी दलहरूसँग मिलेर भाजपाले सरकार गठन गर्नेछ । भाजपाले बिहारकेन्द्रित नीतीश कुमार नेतृत्वको जनता दल युनाइटेड र आन्ध्र प्रदेशकेन्द्रित चन्द्रबाबु नायडु नेतृत्वको तेलुगु देसम पार्टीलाई साथमा लिएर सरकार गठन गर्नेछ ।
सन् २०१४ मा भाजपाले २८२ र सन् २०१९ मा ३०३ सिट जितेको थियो । यसअघि दुवै चुनावमा एनडिए गठबन्धनको सिट संख्या तीन सय नाघेकोमा यसपटक तीन सयभन्दा कम संख्यामा सीमित भएको छ ।
भाजपाको पकड विस्तार भएको मानिएको उत्तर प्रदेशमा भाजपाले धक्का पाएको छ । समाजवादी पार्टीले प्रभावशाली उपस्थिति देखाएको छ । राम मन्दिरलाई भाजपाले चुनावी एजेन्डा बनाए पनि मतदाताले त्यसमा भोट हालेका छैनन् ।
मंगलबार मतगणना हुनुभन्दा केही दिनअघि सार्वजनिक भएका एक्जिट पोलमा भाजपा एक्लैले बहुमत हासिल गर्ने र एनडिए गठबन्धनले दुईतिहाइ मत प्राप्त हुने आँकडा सार्वजनिक भएका थिए । तर, पूर्वानुमानविपरीतको चुनावी नतिजा देखिएको छ ।
स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू १५ अगस्ट १९४७ देखि २७ मे १९६४ सम्म १७ वर्ष भारतका प्रधानमन्त्री थिए । नेहरूपछि तेस्रो कार्यकालका लागि मोदी प्रधानमन्त्री हुने भन्दै प्रधानमन्त्री मोदीले यसलाई यस निर्वाचनको महत्वपूर्ण पहेलु भनेका छन् ।
सुरुमा तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयी नेतृत्वमा एनडिए गठन भएको थियो । बाजपेयीकै नेतृत्वमा सन् १९९८ देखि २००४ सम्म भारतमा एनडिए गठबन्धनको सरकार गठन भएको यियो । २००४ मा भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ एलाइन्स युपिएमा सरकार गठन भएपछिको दश वर्ष एनडिए प्रतिपक्षमा थियो ।
सन् २०१४ यता दुई कार्यकालमा बहुमत आए पनि उसले एनडिए साझेदार दललाई सरकारमा सहभागी गराएको थियो । यसपटक एनडिए गठबन्धनमा भाजपासँग तेलगु देसम पार्टी, जनता दल युनाइटेड, पाटली माकाल काची, द रिपब्लिकन पार्टी अफ इन्डिया आठवाले ग्रुप, शिवसेनालगायत छन् ।
यसपटकको निर्वाचनमा भारतीय राष्ट्रिय कंग्रेसले पछिल्ला दुई लोकसभा चुनावमा भन्दा उत्साहजनक नतिजा हासिल गरेको छ । यद्यपि, कंग्रेसले सयको संख्या पार गर्न सकेको छैन । कांग्रेससहितको गठबन्धन इन्डियामा आबद्ध समाजवादी पार्टी, डिएमकेले पनि विगतका दुई चुनावमा भन्दा उत्साहजनक नतिजा हासिल गरेका छन् । इन्डिया गठबन्धनमा नरहे पनि पश्चिम बंगालकेन्द्रित तृणमूल कंग्रेसले पनि लोकसभामा बलियो उपस्थिति जनाएको छ ।
एनडिएले आन्ध्र प्रदेशमा चन्द्रबाबु नायडु र बिहारमा नीतीश बाबुको नेतृत्वमा विजय हासिल गरे भन्दै प्रधानमन्त्री मोदीले आफ्नो सत्तासाझेदारका रूपमा उनीहरूलाई अथ्र्याएका छन् । भारतीय प्रधानमन्त्री मोदीले भाजपा मुख्यालयमा आयोजित कार्यक्रमलाई यो चुनावको पहेलु भन्दै थपे, ‘१९६२ पछि पहिलोपटक कोही सरकार दुई कार्यकाल पूरा गरेपछि तेस्रोपटक फिर्ता आएको छ । राज्यहरूमा विधान सभाको जहाँ चुनाव भएको छ, त्यहाँ एनडिएको भव्य विजय प्राप्त भएको छ ।’
अरुणाचल प्रदेश, आन्ध्र प्रदेश, उडिसा, सिक्किममा एनडिए गठबन्धनको सरकार बन्दै छ । यसलाई मोदीले महत्वपूर्ण उपलब्धिका रूपमा अथ्र्याएका छन् । भारतीय विदेशमन्त्री डा। एस जयशंकरले मोदी सरकारले देशलाई विकसित भारततर्फ लैजाने विश्वास व्यक्त गरेका छन् । ‘संसारको आँखामा हामीले आफूलाई विश्वबन्धु भारतका रूपमा उभ्याउनेछौँ,’ जयशंकरले भनेका छन् ।
लोकसभा निर्वाचनमा भाजपाकी प्रभावशाली नेतृ तथा मोदीका निकटस्थ मानिने केन्द्रिय मन्त्री स्मृति इरानी पराजित भएकी छिन् । गृहराज्यमन्त्री अजय मिश्र टेनी पनि पराजित भएका छन् ।
नरेन्द्र मोदीले भने स् जनताले तेश्रोपटक विश्वास गरे
देशका जनता–जनार्दनले एनडीएप्रति तेस्रो पटक आफ्नो विश्वास व्यक्त गरेका छन् । भारतको इतिहासमा योएक अभूतपूर्व पल हो । म यो स्नेश र आर्शीदाका लागि आफ्नो परिवारजनमा नमन गर्दछु । म देशवासीलाई विश्वास दिलाउछु कि उनीहरूको आंकाक्षा पुरा गर्न हामी नयाँ उर्जा, नयाँ उमंग, नयाँ संकल्पको साथ अगाडि बढ्न छौँ ।
राहुल गान्धीले भने जनताले मोदी शाह चाहेनन्
हाम्रो लडाई संविधान बचाउन थियो । हिन्दुस्तानका जनताले संविधानमा खतरा देखेर त्यसको रक्षा गरेका छन् । कांग्रेस पार्टीले स्पष्टताका साथ नयाँ दृष्टिकोण दिएको छ । संविधान बचाउने काममा गरिव मानिस बाहिर आए । मजदुर, किसान, दलित, आदिवासिले संविधानको बचाएका छन् । अब देश संचालनका लागि जनताले नरेन्द्र मोदी र अमित शाहलाई नचाहेको स्पष्ट भएको छ ।
आज सत्ता र बिपक्षी गठबन्धनको बैठक
सत्ता समीकरणबारे छलफल गर्न भाजपाले बुधवार एनडीए गठबन्धनको बैठक बोलाएको छ । बिपक्षी कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको बैठक पनि बुधवार अपरान्ह बोलाइएको छ । दैनिक भास्कर अनलाइनका अनुसार एनडीए गठबन्धनको बैठकमा विहान सहभागी हुन प्रधानमन्त्री मोदी आफैँले विहारका मुख्यमन्त्री एवं जेडीयुका अध्यक्ष नितिस कुमार तथा तेलेगु देशम पार्टीका अध्यक्ष चन्द्रबाबु नायडुलाई मंगलवार टेलिफोन गरेका छन् । इन्डिया गठबन्धनको बैठक बुधवार अपरान्ह बसेर अगाामी कदमबारे छलफल गर्ने कांग्रेस नेता राहुल गान्धीले पत्रकारहरूसँग भनेका छन् ।
नेपालको सीमावर्ती राज्यमा भाजपा कमजोर, पकड बढाउँदै क्षेत्रीय दल
नेपालको सीमा जोडिएको उत्तर प्रदेशमा कुल ८० लोकसभा सिटमध्ये अघिल्लो निर्वाचनभन्दा भाजपाले कम्तीमा ३० सिट गुमाएको छ । समाजवादी दलले ३४ सिट थपेको छ ।
अर्को सीमावर्ती क्षेत्र बिहारमा पनि भाजपाले पाँच सिट गुमाएको छ । कुल ४० सिटमध्ये साझेदार जेडियूले पनि चार सिट गुमाएको छ । तर, इन्डिया गठबन्धनले अघिल्लो निर्वाचनको भन्दा आठ सिट थपेको छ । पश्चिम बंगालमा भाजपाले अघिल्लोपटकभन्दा पाँच सिट र कंग्रेसले एक सिट गुमाएका छन् । कुल ४२ सिटमध्ये तृणमूल कंग्रेसले भने लोकसभामा अघिल्लोपटक भन्दा ६ सिट बढाएको छ ।
एक सिट लोकसभा क्षेत्र रहेको सिक्किममा यसपटक पनि सिक्किम क्रान्तिकारी मोर्चाले जितेको छ । कुल पाँच सिट रहेको उत्तराखण्डमा तीन सिट भाजपाले जितेको छ र दुई सिटमा भाजपा नै अगाडि छ ।