काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउनेबारे आन्तरिक छलफल थालेका छन् ।
जनमत र नागरिक उन्मुक्तिलाई सरकारमा सामेल गराउन मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अघि बढाएका ‘प्रचण्ड’ले पार्टीका केही मन्त्रीलाई फिर्ता बोलाउन छलफल चलाएका हुन् । सत्ता गठबन्धनमा आबद्ध दलहरूसँग छलफल गरेर एक साताभित्र मन्त्रिपरिषद् पुनर्गठन गर्ने गरी प्रधानमन्त्री अघि बढेको बताइएको छ ।
पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिनेबारे छलफल चलिरहेको एक नेताले बताएका छन् ।
अहिले माओवादीबाट उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चार मन्त्री रेखा शर्मा र पर्यटन मन्त्री हितबहादुर तामाङ छन् ।