घोराही । अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्बद्र्धन समिति घोराही–१८ को प्रथम वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
समितिका अध्यक्ष कुमुद पोख्रेलको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो । भारतीय उपमहाद्वीपका प्रख्यात शक्तिपीठहरुमध्ये एक मानिने मन्दिरको क्षेत्रफल दुई विगाह छ कट्ठा १५ धुर रहेको छ । स्कन्द पुराणको केदार खण्डको माघ महात्मयमा वर्णित कथा अनुसार सतिदेविको दाहिने कान पतन भएको हो । त्यहाँ कानको आकारको निकै गहिरो स्थान छ । त्यसैमा अम्बिकेश्वरी मन्दिर निर्माण गरिएको बताइन्छ ।
समितिका निमित्त सचिव दामोदर भुसालले पेश गर्नुभएको प्रगति प्रतिवेदन अनुसार दुई सय ७८ साधारण सदस्य र तीन आजीवन गरी दुई सय ८१ जना सदस्य छन् । आगामी तीन वर्षमा साधारण सदस्य सात सय र आजीवन सदस्य ५० गरी सात सय ५० जना पु¥याउने लक्ष्य रहेको छ । उहाँका अनुसार मन्दिरमा आउने भक्त जनहरुको मागअनुसार मन्दिर प्रांगणका पसलमा मूल्यसूची टाँस गर्नेछ । सचिवालयका कर्मचारीको तलव बृद्धि गर्ने, मन्दिरको आम्दानी घोराही उपमहानगरपालिकाको खातामा जम्मा गर्नुपर्ने व्यवस्था हटाई मन्दिरलाई पूर्ण स्वायत्त संस्था बनाइएको छ । मन्दिरमा कार्यरत पुजारीलाई मासिक तलवमा नियुक्त गर्नुपर्ने, हिसाव चुस्त राख्न कार्यालय सचिवको व्यवस्था गर्नुपर्नेलगायतका आगामी कार्यक्रम छन् ।
समितिका कोषाध्यक्ष इन्दिरा अधिकारीका अनुसार गाडीपूजा र दानपेटी, ब्रतबन्ध, विवाह, बोका मुड, धान चामल, भाले, परेवा, सौभाग्य, भेटी, फोटोग्राफी, महाआरतीलगायत शीर्षकबाट आम्दानी हुन्छ । यस वर्षको बैंक मौज्दात नेपाल बैंक लिमिटेडमा ६२ हजार आठ सय ११ रुपैयाँ र कुमारी बैंकमा छ लाख ७६ हजार छ सय ३० गरी सात लाख ३९ हजार चार सय ४१ रुपैयाँ छ । गत वर्ष १४ लाख ५४ हजार आठ सय ४३ रुपैयाँ बैंक मौज्दात रहेको थियो । मन्दिर क्षेत्रलाई पुर्णरुपमा धुम्रपान र मद्यपानमुक्त बनाउन वक्ताहरुले सुझाव दिएका छन् । यज्ञ यज्ञादि कर्म गर्ने स्थलमा धुम्रपान र मद्यपान गर्न बन्द गरिनुपर्ने वक्ताहरुको भनाइ थियो । पवित्रस्थल मन्दिरमा पिकनिक स्पोट राख्न नहुने बताए । यसैगरी सम्भव भए वेद शिक्षाको शुरुवात गर्न आग्रह गरे । यसैगरी दानपेटिका र भेटीको पैसा व्यवस्थित राख्न सुझाव दिए ।
यसैगरी दाङलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सबै मठ मन्दिरका समितिले समन्वय गर्नुपर्ने बताए ।