काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणअघि राजदूत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्याउन नसकेको स्वीकारेका छन् ।
सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भएपनि ध्यान नपुगेको स्वीकार गरे । उनले शर्माले भारत भ्रमणका क्रममा सक्रिय भूमिका खेलेको बताए ।
‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो । र सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो । मैले धन्यवाद पनि भनेर आएको छु । यो त्यही बेला पर्नु संयोग हो । त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रस्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो’ उनले भने ।
एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संसद् विघटन बाध्यता भएको धारणालाई लिएर सरकारमा कुनै नराम्रो हुने स्थिति नरहेको बताए । ओलीले सो धारणा सँधै राख्दै आएकोले आफूले त्यसलाई समान्य रुपमा लिएको प्रधानमन्त्री दाहालले बताए ।
‘नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीजीले यो धारणा सँधै राख्दै नै आउनुभएको छ । उहाँको धारणा, उहाँको पार्टीमा प्रस्तुत गर्नुभएको हो । यसले गठबन्धनलाई केही असर गर्दैन । हामी सबैले बुझेको हो । आफ्नो धारणा, आफ्नो पार्टीमा राख्नुलाई स्वभाविक नै ठानेको छु । यसले समीकरणमा केही हुन्छ की भन्न खोज्नुभएको हो भने केही फरक पर्ने स्थिति छैन’ प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्री दाहालले सार्कलाई सक्रिय पार्ने कुरादेखि सीमासँग सम्बन्धित मुद्दा र व्यापार पारवाहनसँग सम्बन्धित मुद्दालाई सक्रिय बनाइ संवादबाट समाधान गर्न आग्रह गरेको बताए ।