सदनले सरकारलाई पन्छाउनुपर्यो । बाढी र पहिरोले सडक छेकेजस्तै सरकारले संसद्को कामलाई पनि छेकेको छ’ खतिवडाले भने
काठमाडौँ — प्रतिनिधि सभाका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् । आईतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै कांग्रेस, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बहुमत गुमिसकेकाले संसद्ले वर्तमान सरकारलाई हटाउनुपर्ने तर्क समेत गरेका छन् ।
कांग्रेस सांसद रामहरि खतिवडाले बाढी र पहिरोले सडक अवरुद्ध पारेजस्तै सरकारले देश नै अवरुद्ध पारेको उल्लेख गर्दै संसद्ले त्यसलाई पन्छाउनुपर्ने बताए । उनले सरकारले कुनैपनि काममा अवरोध गर्न नहुने बताए ।
‘सदनले सरकारलाई पन्छाउनुपर्यो । बाढी र पहिरोले सडक छेकेजस्तै सरकारले संसद्को कामलाई पनि छेकेको छ’ खतिवडाले भने ।
एमाले सांसद रघुजी पन्तले संसद्मा बहुमत गुमाइसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिकताको आधारमा पनि राजीनामा दिन उपयुक्त हुने उल्लेख गरे ।
संविधानले दाहाललाई विश्वासको मत दिने अधिकार दिएपनि बहुमत गुमाएकाले प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।
सांसद पन्तले भने, ‘लोकतन्त्रको सौन्दर्य त्यसको एउटा नैतिक पक्ष हुन्छ । एउटा संवैधानिक पक्ष पनि हुन्छ । तर नैतिक कुराहरु संविधानमा लेखिएको हुँदैन । अहिलेको नैतिक प्रश्न के हो भने प्रधानमन्त्रीले राजीनामा दिनुहोस् । यद्यपि संविधानले उहाँलाई विश्वासको मत लिने अधिकार दिएको छ । विश्वासको मत लिने समय पनि दिएको छ । तर नैतिक पक्ष त्यो होइन । अत्याधिक रुपमा उहाँले बहुमत गुमाईसकेपछि राजीनामा गर्नु उपयुक्त हुन्छ । बहुमत नभएकाले उहााको काम राजीनामा दिने मात्रै हो ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले बहुमत पुर्याउन सक्ने अवस्था नभएकाले संसदमा विश्वासको मत लिने काम आवश्यक नभएको राप्रपाकी सांसद रोशन कार्कीले बताइन् । उनले प्रधानमन्त्रीसँग बढीमा ६३ मत रहेकाले संसद्मा बहुमत पाउने अवस्था नरहेको तर्क गरिन् ।
सांसद कार्कीले भनिन्,ुप्रधानमन्त्री दाहालसाग ६३ मत मात्रै रहेकाले बहुमत पुर्याउन गार्हो छ । त्यसकारण यतातर्फ ध्यान दिन सरकारलाई आग्रह गर्न चाहन्छु ।’
यता प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।कान्तिपुर