Spread the love

तेस्रोपटक शक्तिशाली प्रधानमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका उनी कुनै उथलपुथल नभएमा अबको ४ दिनमा राजकीय शक्ति गुमाएर बाहिरिने भएका हुन्

कहिले एमाले त कहिले कांग्रेससँग मिलेर डेढ वर्ष सत्ता टिकाएका प्रचण्डले एकैपटक केन्द्रदेखि सातै प्रदेशमा सत्ता गुमाउने भएका छन् । २०७९ पुस ११ गते तेस्रोपटक शक्तिशाली प्रधानमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका उनी कुनै उथलपुथल नभएमा अबको ४ दिनमा राजकीय शक्ति गुमाएर बाहिरिने भएका हुन् । प्रधानमन्त्री भएको करिब १९ महिनामा प्रचण्डले पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् । उनको पक्षमा बहुमत नपुग्ने देखिएपछि उनि अब शक्तिहिन हुँदैछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादीका लागि आगामी दिन त्यति सजिलो देखिँदैन । संघदेखि सातै प्रदेशमा कांग्रेस–एमालेको सहज बहुमत पुग्ने भएकाले प्रचण्डले दुरगामी सुझबुझ नदेखाए सबै राजकीय पद गुमाउने खतरा देखिन्छ । अहिले देशको सर्वोच्च निकाय राष्ट्रपतिमा रामचन्द्र पौडेल (नेपालीस् कांग्रेसबाट) बनेका छन् । जसपा नेपालबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव छन् । राष्ट्रिय सभाका अध्यक्ष माओवादीबाट नारायण दाहाल छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे (एमालेबाट) छन् । राष्ट्रिय सभाका उपाध्यक्ष एमाले र प्रतिनिधि सभाका उपसभामुख रास्वपाबाट बनेका छन् ।
सात प्रदेशमध्ये अहिले माओवादीले बागमती र लुम्बिनीमा मात्र सरकारको नेतृत्व गरेको छ । माओवादीबाट लुम्बिनी र कर्णालीमा प्रदेश प्रमुख बनेका छन् । यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा माओवादी केन्द्रबाट सभामुख बनेका छन् कर्णालीमा उपसमाभुख माओवादी केन्द्रले पाएको छ । । नयाँ समीकरण बनेपछि सातै प्रदेशमा माओवादी सत्ता बिमुख हुनेछ । त्यसको सुरुवात मधेस प्रदेशबाट भइसकेको छ । सात प्रदेश प्रमुखमध्ये अहिले कोशीका प्रदेश प्रमुख परशुराम खापुङ जसपा नेपाल निकट हुन् । मधेसकी सुमित्रा भण्डारी, गण्डकीका डिल्लीराज भट्ट र सुदूरपश्चिमका नजिर मियाँ एमाले निकट हुन् । यी तीनै जना फागुन २९ गतेमात्र फेरिएका हुन् ।
बागमतीका प्रदेश प्रमुख यादवप्रसाद शर्मा एकीकृत समाजवादी निकट हुन् । लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियार माओवादी निकट हुन् । शर्मा, शेरचन र परियार तीनै जनाको पद धरापमा परेको छ । सात मुख्यमन्त्रीमध्ये कोशी, लुम्बिनी र कर्णाली एमालेले लिने सहमति भएको नेताहरूले बताएका छन् । मधेस जनमत पार्टीलाई नै निरन्तरता दिने र बागमती, गण्डकी र सुदूरपश्चिम कांग्रेसले लिने सहमति भएको छ । अहिले माओवादीबाट बागमतीमा शालिकराम जम्कट्टेल र लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री छन् ।
सभामुखतर्फ कोशी र बागमतीमा राप्रपा, मधेस र कर्णालीमा एमाले, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा माओवादीबाट निर्वाचित भएका हुन् । संसदमा असहयोग भएको खण्डमा माओवादीले प्रदेश सभाबाट जुनसुकै बेला सभामुख गुमाउने खतरा देखिन्छ । यसरी राज्यका यी महत्त्वपूर्ण पद गुमाउनुको साथै संवैधानिक निकाय, कूटनीतिक नियोग, राजनीतिक नियुक्तिका सबै ढोकाहरू माओवादीका लागि बन्द हुनेछन् ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *