काठमाण्डौ, २६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट पार्टीलाई छुटाएरै छोड्ने बताउनुभएको छ । काठमाण्डौमा आज पत्रकार सम्मेलन गरी नेता ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभई रवि लामिछाने क्लबबाट मात्रै निष्काशन गरिएको दाबी गर्नुभयो । उहाँले सभापति रवि लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने र त्यसका लागि पार्टीको केन्द्रीय समिति सदस्यहरूले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्नुभएको छ ।
ढकालले दुई वटा राहदानीको विषयमा पनि पार्टीले लामिछानेमाथि छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो । आफूलाई राजनीतिक दलको मूल्य, मान्यता विपरीत निलम्बन गरिएको र उपसभापतिबाट निलम्बनको पत्र दिन अवैधानिक रहेको उहाँले जिकिर गर्नुभयो ।।