काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका बेचन झा बिरामी परेका छन्।
झालाई असार १४ गते भारतबाट पक्राउ गरि नेपाल ल्याइएको थियो। झामाथि नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।
उनी हिरासतमा बिरामी छन्। आफु अस्वस्थ्य रहेको बताएका झाले सरकारी वकिलको कार्यालयमा बयान दिन समेत अस्विकार गरेका छन्।
झा नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वाधिक खोजिएका पात्र थिए। एक प्रहरी अधिकृत भन्छन्,‘उहाँ बोल्न निकै गारो भएजस्तो गरिरहनु भएको छ। हिडडुल गर्न पनि असहजता भएजस्तो देखिन्छ।’
झामाथि अनुसन्धान गर्न प्रहरीले दुईपटक म्याद लिइसकेको छ। बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लगिएपनि उनले बयान दिएका छैनन्।
झाविरुद्ध प्रहरीले किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध गरी तीनवटा मुद्दामा अनुसन्धान अगाडि बढाएको छ।
२०७९ चैतदेखि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणका आशंकित व्यक्तिलाई पक्राउ गरेको थियो।
यसैक्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सांसद टोपबहादुर रायमाझीदेखि बहालवाला सचिव टेकनारायण पाण्डे लगायत पक्राउ परेका थिए।
झाको कनेक्सन अन्य राजनीतिज्ञसम्म भएको बताइन्छ। माओवादी र रास्वपाका सांसदले भने बेचन पक्राउ परेपछि नै नयाँ राजनीतिक समिकरण बनेको दाबी गर्दै आएका छन्।