कांग्रेसले गृहसहित ११ मन्त्रालय र एमालेले आठ मन्त्रालय लिने उल्लेख छ
कांग्रेसमा प्रकाशमान सिंह, रमेश लेखक, जीवन परियार, किशोरसिंह राठोर, हृदयराम थानी, ऐनबहादुर शाही, अजय चौरसिया, दीपक खड्का, उदयशमशेर राणालगायत मन्त्रीका लागि चर्चामा रहेका नाम हुन्
डा. प्रकाशशरण महत, प्रवक्ता, कांग्रेस : मापदण्ड बनेको छ, त्यस आधारमा मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधार हुनेछन् । समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिएर छनोट गरिनेछ ।
कांग्रेसले योग्यता र योगदानका मन्त्री छनोट गर्ने भएको छ । शनिबार सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पार्टीबाट समावेशिता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गर्ने निर्णय लिएको हो । प्रवक्ता डा. प्रकाशशरण महतका अनुुसार बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने औपचारिक निर्णय गर्दै मन्त्रीको मापदण्ड तय गरेको हो ।
‘कांग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय यो बैठक गर्दछ,’ कांग्रेस बैठकको निर्णयमा भनिएको छ । बैठकले पार्टीमा आवश्यक छलफल गरेर मन्त्रीको टुंगो लगाउन जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।
कांग्रेस कार्यसम्पादन समिति बैठकमा साना दलसमेतलाई सहभागी गराउनुपर्ने भएका मन्त्रालय भागबन्डा पेचिलो बन्नेबारे छलफल भएको थियो । एक पदाधिकारीका अनुसार बैठकमा साना दलहरूलाई समेत सहभागी गराउनुपर्ने भएका कारण दुई दलबीचको पूर्वसहमतिअनुसार मन्त्रालय पाउने अवस्था नरहेको ब्रिफिङ गरिएका थियो । ‘कांग्रेसले ११ मन्त्रालय लिने सहमति भएको हो, तर राष्ट्रिय सहमतिको सरकार भनिएकाले अन्य दललाई पनि समेट्नुपर्ने अवस्था छ,’ कांग्रेसका एक पदाधिकारीले भने ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने बैठकले मापदण्ड बनाएर पार्टी र गठबन्धन दलमा थप छलफल गरेर मन्त्रीको टुंगो लाग्ने बताए । ‘मापदण्ड बनेको छ, त्यस आधारमा मन्त्री चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधार हुनेछन् । समावेशिता र प्रादेशिक सन्तुलनलाई ध्यान दिएर छनोट गरिनेछ,’ उनले भने । सहमतिअनुसार कांग्रेसले गृहसहित ११ मन्त्रालय र एमालेले आठ मन्त्रालय लिने उल्लेख छ ।
कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठका अनुसार बैठकमा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने जानकारी गराइएको थियो । ‘पर्फर्मेन्स देखाउन सक्ने गरी परिपक्व र सिनियरको नेतृत्वमा उपप्रधानमन्त्री लिएर सरकारमा सहभागी तयारीबारे बैठकमा छलफल भयोे,’ श्रेष्ठले भने । सहमहामन्त्री जीवन परियारले बैठकमा मन्त्रीको नाम र संख्याको विषयमा छलफल नभएको बताए । ‘मन्त्रीको मापदण्ड बनाउने विषयमा औपचारिक छलफलबाहेक अरू विषय छलफल नै भएन,’ उनले भने । कांग्रेसले उपप्रधानमन्त्रीसहित ११ मन्त्रालय लिने नेताहरूको भनाइ छ । कांग्रेसमा प्रकाशमान सिंह, रमेश लेखक, जीवन परियार, किशोरसिंह राठोर, हृदयराम थानी, ऐनबहादुर शाही, अजय चौरसिया, दीपक खड्का, उदयशमशेर राणालगायत मन्त्रीका लागि चर्चामा रहेका नाम हुन् ।