काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
राष्ट्रपतिले दिएको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिएपछि राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री ओलीको शपथ सोमबार ११ बजे हुने तय गरिएको छ ।
ओली २०४८ सालबाटै संसदमा निर्वाचित हुँदै आएका ओली हाल झापा ५ का सांसद हुन् । उनले २०६४ सालको संविधान सभा चुनाव बाहेक अन्य सबै जित्दै आएका छन् । ओली पहिलोपटक ०५१ मा मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा गृहमन्त्री भए भने दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भएका थिए ।
त्यसपछि उनी २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बने । २०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने । २०७१ सालको नवौं महाधिवेशपछि १० वर्षदेखि ओली एमालेको अध्यक्ष छन् ।
चौथो पटक प्रधानमन्त्री बनेका ओलीले सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।