गृहमन्त्री लेखकले मानिसलाई कुनै पनि विपद् वा समस्या परेको बेला सबैभन्दा पहिला प्रहरीकोमा पुग्ने चर्चा गर्दै पीडामा भएका व्यक्तिहरूको समस्या सम्बोधनका लागि प्रहरीलाई थप सक्रिय हुन निर्देशन दिए
काठमाडौँ । नवनियुक्त गृहमन्त्री रमेश लेखक नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेका छन् । उनी मन्त्री बनेपछि मातहतको प्रहरी प्रधान कार्यालय पुगेका हुन् ।
गृहमन्त्री लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी लिए ।
निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उनले कानूनी व्यवस्था कायम गर्न, शान्ति सुरक्षा तथा अपराध अनुसन्धान एवम् नियन्त्रण गरी मुलुक वा समाजलाई न्याय दिने र सशस्त्र द्वन्द्वको क्रममा जीवनको प्रवाह नगरी निर्भीकतापूर्वक आफ्नो कर्तव्य पालना गर्ने सवालमा नेपाल प्रहरीले उत्कृष्ट कार्य गरेको चर्चा गरे ।
गृहमन्त्री लेखकले नेपाल प्रहरीको इतिहास गर्व गर्न लायक रहेको उल्लेख गर्दै सीमित साधन स्रोतका बाबजुद पनि शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान एवम् विपद्को समयमा उद्धार गर्न, जोखिमबाट बचाउन नेपाल प्रहरीले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
लोकतन्त्रको आधारभूत मान्यता विधिको शासनलाई लागू गर्नु नेपाल प्रहरीको पहिलो काम रहेको उल्लेख गर्दै उनले भने, ‘तपाईँहरूले गर्नुभएको काम जनताले अनुभूति गर्ने विषयसँग जोडिन्छ । त्यसतर्फ यथेष्ट ध्यान रहनेछ भन्ने आग्रह गर्न चाहन्छु । निष्पक्षता, पारदर्शिता र व्यावसायिकतामा कुनै हालतले कमी हुनुभएन र यससँग सम्झौता हुन सक्दैन ।’
प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ काम गर्नुपर्ने बताउँदै उनले यसका लागि जे जति प्रेरणादायी काम गर्नुपर्छ मन्त्रालय सदैव प्रतिबद्ध रहेको उल्लेख गरे ।
गृहमन्त्री लेखकले मानिसलाई कुनै पनि विपद् वा समस्या परेको बेला सबैभन्दा पहिला प्रहरीकोमा पुग्ने चर्चा गर्दै पीडामा भएका व्यक्तिहरूको समस्या सम्बोधनका लागि प्रहरीलाई थप सक्रिय हुन निर्देशन दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आगामी दिनहरूमा उत्पन्न हुनसक्ने चुनौतीपूर्ण र असहज परिस्थितिहरूको सामना गर्न र आमनागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले नवीनतम चुनौतीका रूपमा देखा परेका संगठित अपराध, लागुऔषध, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसुर, अवैध हातहतियार ओसारपसार, बहुमूल्य सामग्रीहरूको ओसारपसार, आर्थिक अपराधलाई निर्ममतापूर्वक कानूनी दायरामा ल्याउन नेपाल प्रहरी कटिबद्ध रहेको बताए ।अनलाईनखबर।