रवि लामिछानेमाथि थप अनुसन्धान गर्ने तयारीमा प्रहरी

ByNews

२०८१ श्रावण ७, सोमबार २१:१८ २०८१ श्रावण ७, सोमबार २१:१८ २०८१ श्रावण ७, सोमबार २१:१८
Spread the love

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणसँग जोडिएका तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले पुनः अनुसन्धान गर्ने तयारी थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया ग्रुपमा सहकारीको रकम प्रयोग भएको खुलेको थियो । उक्त प्रमाणका आधारमा उनीमाथि अनुसन्धान अघि बढाउने तयारी प्रहरीले थालेको हो ।
गोर्खा मिडिया ग्रुपका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) हाल फरार छन् । जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया ग्रुपले ग्यालेक्सी टेलिभिजन सञ्चालनमा ल्याएको थियो ।
टेलिभिजनका प्रबन्ध निर्देशकमा रवि लामिछाने थिए ।
त्यही आधारमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गर्ने तयारी गरिरहेको प्रहरी उच्च स्रोतले जानकारी दिए ।
‘‘सहकारीको रकम हिनामिना अनुसन्धानमा केही राजनीतिकरण पनि भएको छ । पछिल्लो समय संसदीय छानबिन समिति बनेको हुँदा प्रतिवेदन दिएपछि हामी अनुसन्धानलाई तीव्र पार्ने छौं,’’ उच्च प्रहरी स्रोतले भन्यो ।

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएका १९ जनाविरुद्ध जिल्ला अदालत पोखरामा मुद्दा चलिरहेको छ । सहकारीका मुख्य आरोपी जीबी राईबाहेक अधिकांश पक्राउ परिसकेका छन् ।
सूर्यदर्शन सहकारीको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको थियो । जसमध्ये गोर्खा मिडिया ग्रुपमा मात्रै करिब १० करोडभन्दा बढी रकम सहकारीबाट आएको देखिएको छ ।
लामिछानेविरुद्ध कास्की प्रहरीमा ठाडो उजुरी परेको थियो । तर, त्यहीबीचमा लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेपछि अनुसन्धान प्रभावित बनेको थियो । सत्ता गठबन्धन परिवर्तन हुँदै लामिछाने गृहमन्त्रीबाट बाहिरिएपछि प्रहरीले पुनः अनुसन्धान गर्ने तयारी थालेको हो ।
सूर्यदर्शन सहकारीबाहेक प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा पनि लामिछानेको नाम मुछिएको थियो ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *