वर्षौंपछि भेटिएका पूर्वप्रेमीहरूको मन छुने कथा, हेर्नुस् युट्युबमा

ByNews

२०८१ श्रावण २५, शुक्रबार २२:१४ २०८१ श्रावण २५, शुक्रबार २२:१४ २०८१ श्रावण २५, शुक्रबार २२:१४
Spread the love

गुड फ्राइडे सिनेमा

बलिउडमा त्यस्ता कैयन फिल्म छन् जसको कथा, प्रस्तुति, कलाकार, अभिनय सबै अब्बल हुँदाहुँदै बक्स अफिसमा सफल भएका छैनन्। कमाइ र व्यावसायिक आँकडा नै सफलताको मापक मानिने हुँदा कतिपय राम्रा फिल्म पनि हेर्न छुटेका हुन सक्छन्।

आजको गुड फ्राइडे सिनेमामा हामी तपाईंहरूलाई त्यस्तै एउटा फिल्म हेर्न सिफारिस गर्दैछौं।

रेनकोट यस्तो प्रेम कथा हो जसमा दुई प्रेमी बिछोडिन्छन्। तर उनीहरूबीच माया र सम्मानमा कमी आउँदैन।

फिल्मको सुरूआत भागलपुर गाउँबाट हुन्छ जहाँ मनोज र उनकी आमा बस्छन्। जागिर गुमाएर बसेका मनोज आफ्नै व्यवसाय सुरू गर्ने तयारीमा छन्। तर उनीसँग पैसा हुँदैन।

केही पैसाको व्यवस्था गर्न सकिन्छ कि भनेर उनी सहर जान्छन्। त्यहाँ उनी आफ्नो साथी आलोकको घरमा बस्छन्। उनकै सल्लाह अनुसार मनोजले बाल्यकालका साथीहरूसँग थोरै थोरै पैसा सापटी लिने निर्णय गर्छन्। लामो समयसम्म भेटघाट नगरेको साथीहरूसँग सहयोग माग्न उनी हिच्किचाइरहेका हुन्छन्।

तर अरू कुनै बाटो नभएपछि उनी साथीहरूसँग सहयोग लिन बाध्य हुन्छन्। आलोकले थुप्रै साथीहरूलाई फोन गरेर सहयोग गर्न आग्रह गरिदिन्छन्। साथै उनले एक चिठी समेत लेखिदिएका हुन्छन्।

पैसा लिन मनोज आफै साथीहरू भएको ठाउँमा जानुपर्ने हुन्छ। यसैबीच उनी पूर्वप्रेमिकालाई भेट्न चाहन्छन्। आलोकलाई मनोजले निरूको ठेगाना सोध्छन्।

आलोकले मनोजलाई आफूलाई छाडेर जाने मान्छेसँग नभेट्नू भनेर सम्झाउँछन्। त्यहाँ गएर आफूलाई दुःखी नबनाउन भन्छन्। आलोककी श्रीमतीले भने मनोजले चाहेको ठाउँमा जान दिन अनुरोध गर्छिन्।

बाहिर मुसलधारे पानी परिरहेको हुन्छ। मनोज जाने बेला आलोककी श्रीमतीले आफ्नो मोबाइल र रेनकोट दिन्छिन्। केही साथीसँग पैसा लिएपछि मनोज निरूको घरमा जान्छन्।

केही बेर घन्टी बजाएपछि निरूले ढोका खोल्छिन्। उनले आफू सुतिरहेको बताउँछिन्। आफ्नो घरमा स्वागत गर्दै उनले पानी नरोकिँदासम्म बस्न आग्रह गर्छिन्। निरूले आफ्नो श्रीमान कामले बाहिर गएको बताउँछिन्।

कुराकानीको क्रममा उनीहरू एकअर्काको बानीमा धेरै परिवर्तन नआएको बताउँछन्। उनीहरू दुवै आफूलाई सफल र खुसी रहेको प्रमाणित गर्न लागि पर्छन्। तर वास्तविकता अर्कै हुन्छ।

त्यो वास्तविकता खुलाउन रेनकोटले ठूलो भूमिका खेलेको हुन्छ।

थप कथा जान्न रितुपर्नो घोषले निर्देशन गरेको फिल्म रेनकोट हेर्नुस्

https://www.youtube.com/watch?v=um9PHy3uCas&t=1578s

समीक्षक तथा दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएको यही फिल्मबाट निर्देशक घोषले राष्ट्रिय अवार्ड जितेका थिए। त्यस्तै निरूको भूमिका निर्वाह गरेकी ऐश्वर्य रायले जीसिने अवार्ड जितेकी थिइन्।सेतोपाटी

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *