थारू समुदायले मनाए गुरही पर्व

ByNews

२०८१ श्रावण २६, शनिबार ०५:३९ २०८१ श्रावण २६, शनिबार ०५:३९ २०८१ श्रावण २६, शनिबार ०५:३९
Spread the love

थारू बाहुल्यता रहेका तराईका जिल्लाहरूमा धान रोपिसकेपछि गुरही पर्व मनाउने चलन छ

काठमाडौँ । काठमाडौँ उपत्यकामा बस्ने थारू समुदायले नेपाल प्रज्ञा प्रतिष्ठानमा गुरही/गुरिया पर्व मनाएका छन् ।

अग्रासन महिला समूहलगायत विभिन्न दुई दर्जन थारू सङ्घसंस्थाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि थारू आयोगका अध्यक्ष विष्णु चौधरीले शुभकामना दिए । उनले भने, “विगत केही वर्षयता थारू महिलाहरू सङ्गठित हुँदै गएकामा खुसी लागेको छ । महिलाहरूले यसलाई पर्व सँगसँगै अधिकार प्राप्तिको आन्दोलनका रूपमा पनि लिनुपर्छ ।”

थारू कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य इन्दु थारूले गुरहीलगायत धेरै महत्त्वपूर्ण चाडबाडबारे अझै पनि राष्ट्रिय स्तरको पाठ्यक्रममा पढ्न नपाउनु विडम्बनापूर्ण अवस्था रहेको बताइन् ।

कार्यक्रममा प्रेमा चौधरी, नेमसिंह थारूलगायतले राजधानी बसेर पनि गाउँघरको पर्व सामूहिक रूपमा काठमाडौँमा मनाउन पाएकामा खुसी व्यक्त गरे । त्यस अवसरमा विभिन्न थारू कलाकारले गीत, नृत्य प्रस्तुत गरेका थिए ।

प्रज्ञा प्रतिष्ठानमा कपडाका गुरही (गुडिया) बालिकाले चौरमा सेलाएका थिए भने बालकहरूले सोंटा (कोर्रा)ले गुरही ठटाएका थिए । कार्यक्रमका अवसरमा काभा भलिबल प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएकी सरस्वती चौधरी, भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनशिपमा स्वर्ण पदक विजेता मनीषा चौधरीलगायत महिला खेलाडीहरूलाई सम्मान प्रदान गरिएको थियो ।

थारू बाहुल्यता रहेका तराईका जिल्लाहरूमा धान रोपिसकेपछि गुरही पर्व मनाउने चलन छ । खेतीपातीमा कुनै किसिमको हानि/नोक्सानी नहोस्, गाउँमा रोगविरोग नफैलियोस् भनेर किसानहरू हरेक वर्षको साउनको अन्तिम वा भदौको सुरुआतमा गुरही/गुरिया पर्व मनाउने चलन छ । रासस

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *