हामीले चुप लाग्नाका लागि यो गठबन्धन बनाएको होइन
काठमाडौँ — सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारसँग विमतिका विषयहरूमा चुप लागेर बस्न नसकिने टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल निजामति कर्मचारी युनियनको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । महामन्त्री शर्माले एमालेसँग भएका विमतिका विषयवस्तुलाई तिलाञ्जली दिने वा जबरजस्ती ढाकछोप गर्न खोजे सरकार नै दुर्घटनामा पर्ने भएकाले आफूले विमतीका विषय बाहिर ल्याउने गरेको पनि स्पष्ट पारे ।
महामन्त्री शर्माले भने, ‘अहिले पनि के बिर्सनु हुँदैन भने कांग्रेस र एमालेबीचमा भएका विमतिका विषयवस्तुहरूलाई हामीले तिलाञ्जली दियौं, हामीले जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ । हामीले गर्ने के हो भने यसलाई सहजतापूर्वक लिने हो । एमालेको हामीसँगका विमतिलाई हामीले बुझ्नुपर्छ । एमाले हामीसँग कयौं कुरामा असहमत छ ।
कांग्रेस र एमालेबीच विमतिका विषयमा थाँती राखेर अघि बढ्नका लागि यो गठबन्धन नबनेको उनको भनाइ थियो । महामन्त्री शर्माले विमतिका विषयमा प्रधानमन्त्री ओलीलाई महसुस होला भनेर कांग्रेसले सोच्ने र एमालेले पनि शेरबहादुर देउवालाई महसुस होला भनेर सोच्ने हो भने त्यसको कुनै अर्थ नहुने बताए । उनले आफूहरूबीच चुप लागेर बस्नका लागि वर्तमान सत्तारुढ गठबन्धन नबनेको दाबी समेत गरे ।