Spread the love

चोरिको सुन बेच्नाने नाईके को को हुन त ?

काठमाडौं – अन्तर्देशीय संगठित गिरोहले भित्र्याएको तस्करीको सुन काठमाडौं उपत्यकाभित्र र बाहिरका सुनचाँदी पसलमार्फत व्यवस्थापन भएको खुलिसक्दा पनि अनुसन्धानको जिम्मेवारी पाएको सीआईबीले बृहत् अनुसन्धान अघि बढाएको छैन । विद्युतीय चुरोट (भेप) र ब्रेक सुजस्ता उपकरणमा लुकाएर गत वर्ष ल्याइएको सुनसमेत नेपालकै सुनचाँदी पसलले किनेर सर्वसाधारणलाई बेचेको प्रहरी अनुसन्धानबाटै खुलेको थियो ।

पक्राउ परेका व्यक्तिहरूले तस्करीको सुन पसलमा पनि व्यवस्थापन गरिएको बताएका थिए । तिनीहरूमाथि अनुसन्धान नगरी सीआईबीका तत्कालीन प्रमुख श्याम ज्ञवालीले प्रतिवेदन बुएका थिए ।

आर्थिक वर्ष २०७९/८० मा मात्रै चिनियाँ तस्करले भेप, ब्रेक सु र विद्युतीय उपकरणलगायतमा लुकाएर करिब ३५ क्विन्टल सुन भित्र्याएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानबाट खुलेको थियो । यसरी भित्रिएको सुनको भारत निकासी हुन्छ भन्ने भ्रम छ, तर भन्सार छलेर ल्याइएको सुन नेपाली सर्वसाधारणलाई समेत बेचिएको बयान पक्राउ परेका व्यक्तिहरूले नै दिएका छन् ।

अवैध सुन व्यवस्थापनमा लक्की ज्वेलर्स, महाकाली ज्वेलर्स, पशुपति ज्वेलर्स, मुक्तिनाथ सुनचाँदी पसल, जय सन्तोषी माँ सुनचाँदी ज्वेलर्सको नाम खुलेको छ । त्यस्तै जागेश्वरी ज्वेलर्स, श्रीराम गुल्मेली सुनचाँदी पसल, आशापुरी ज्वेलरी, त्रिशक्ति क्रिएसन, गढीमाई ज्वेलर्स, शिवम् ज्वेलर्स, गजानन ज्वेलर्स र हरेराम हरे कृष्ण सुनचाँदी पसलका सञ्चालक तथा कर्मचारी पनि तस्करीका सुन जानाजान खरिदमा संलग्न भएको सीआईबीकै अनुसन्धानमा पाइएको थियो ।

भेप र ब्रेक सुलगायतमा लुकाएर गरिएको सुन तस्करीबारे जाँचबुझ गर्न २०८० असोजमा सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो । जाँचबुझका क्रममा व्यक्तिलाई पक्राउ नै गर्नसम्मको अधिकार आयोगलाई थियो । तर सुन पसलबाट भएका गैरकानुनी कारोबारमाथि जाँचबुझ नगरी आयोगले त्यसअघि सीआईबीले गरेको अनुसन्धान प्रतिवेदन वरिपरि मात्रै अलमलियो । त्यसैले तस्करीबाट आएको सुन कहाँ गयो भन्ने खुट्याउन आयोग पनि असफल भयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर बाहिर निकालिएको ६१ किलो सुन राजस्व अनुसन्धान विभागले २०८० साउन २ मा सिनामंगलबाट बरामद गरेको थियो । त्यसमाथि सीआईबीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० भदौ ३१ मा २९ जनाविरुद्ध ३ अर्ब ५० करोड २ लाख बिगो मागदाबी गरेर जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष शिवकुमार सर्राफले पनि अवैध सुन खरिद गर्थे । ‘मैले डेढ वर्षअघि सर्राफलाई एक किलो सुन दिएको हुँ,’ खत्रीले बयानमा भनेका छन् । खत्री आशापुरी ज्वेलरी र सर्राफ हरेराम कृष्ण ज्वेलरीका सञ्चालक हुन् ।

जागेश्वरी ज्वेलर्सका नामबाट तानाजीले सुन ‘रिफाइनरी’ पसल सञ्चालन गर्दै आएका थिए । ‘भिनाजुले भनेबमोजिमका मानिसबाट बिनाबिलको सुन लिने, भनेबमोजिमका मानिसलाई सुन दिने र उसलाई रकम दिनेसमेत काम गर्थें,’ गायकवाडले बयानमा भनेका छन्, ‘म नेपालमा आएदेखि नै भिनाजुले बिनाबिलको सुन खरिद/बिक्री गर्नुहुन्थ्यो । भिनाजुले १ वर्षअघिबाट पैसाको झोला दिई न्युरोड एरियामा जाऊ, यस्तो हुलियाको मानिस आउँछ, निजलाई पैसा दिई आऊ भनी पठाउने गर्नुहुन्थ्यो । मैले उहाँले भनेबमोजिमका मानिसलाई पैसा दिने गर्थें ।’

६१ किलो सुनको अनुसन्धान अघि बढेपछि तानाजी पसल बन्द गरेर भागेका थिए । गायकवाडको बयानअनुसार छापावाला सुनभन्दा पनि गालेर/पगालेर बिस्कुट आकार दिइएको अवैध सुनको कारोबार तानाजीले गर्थे । यो भनेको तस्करीको सुन हो । गायकवाडले यो अवधिमा ५० किलो सुन रिसिभ गरेको बयानमै उल्लेख गरेका छन् ।

भारतीय नागरिक अशोक गायकवाड र अभिजित तानाजीकै सेटिङमा तस्करीको सुन किनेर ‘रिफाइनरी’ पसलबाट नक्कली बिल बनाई बिक्री गर्नेमा लक्की ज्वेलर्स मुछिएको छ । महाकाली ज्वेलर्स पनि तस्करीको सुन खरिद गरी अभिजित तानाजीमार्फत ‘रिफाइनरी’ गर्ने कार्यमा जोडिएको पाइएको छ । पशुपति ज्वेलर्समा पनि अभिजित तानाजीको सेटिङमा कारोबार हुने गरेको अनुसन्धानमा खुलेको छ ।

मुक्तिनाथ सुनचाँदी पसलका सञ्चालक मनोराज श्रेष्ठमाथि भने अशोक गायकवाड र धीरज दिनेश भोइटेसँग मिलेर तस्करीको सुन कारोबार गरेको आरोप छ । जय सन्तोषी माँ सुनचाँदी ज्वेलर्सले तस्करीको सुन किनेर बेच्ने कार्यमा संलग्न देखिएको छ । श्रीराम गुल्मेली सुनचाँदी पसलले तस्करीको सुन खरिद गरी बुटवलमा नक्कली बिल बनाई कारोबार गरेको पाइएको छ । शक्ति क्रिएसन र गढीमाई ज्वेलर्सले तस्करीको सुन खरिद गर्नुका साथै नक्कली बिलबाट कारोबार गरेको भेटिएको छ ।

हरेराम हरे कृष्ण सुनचाँदी पसलका सञ्चालक शिवकुमार सर्राफ हुन्, जसले तस्करीको सुन कारोबार गरेको खुलेपछि पसल गरी अर्कै नाममा सुन कारोबार गरेको पाइएको छ । गढीमाई ज्वेलर्सले शिवकुमार सर्राफमार्फत कारोबार गर्दै आएको थियो । शिवम् ज्वेलर्स चिनियाँ गिरोहबाट तस्करीको सुन खरिद र नक्कली बिलबाट कारोबारमा मुछिएको छ । यस्तै, गजानन ज्वेलर्सका सञ्चालक प्रशान्त गणेश बजबलकरले तोकिएका मानिसमार्फत सुनको अवै कारोबार गरेको देखिएको छ । यसबीचमा केही व्यवसायी र सुनचाँदी पसलका कर्मचारी पक्राउ परे, कोही फरार छन् ।

प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले सुन तस्करीसम्बन्धी सीआईबीको पछिल्लो अनुसन्धानमा जेजति खुलेका तथ्य–प्रमाणका आधारमा विभिन्न व्यक्तिलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको र यसको अनुसन्धान गर्ने बाटो अझै खुलै रहेको बताए ।

देशभर सुनचाँदी पसलको संख्या करिब २२ हजार रहेको बताइन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्यका अनुसार महासंघमा दर्ता भएका करिब १० हजार, रत्न तथा आभूषण महासंघअन्तर्गत करिब ४ हजार र दुवैमा दर्ता नभएका करिब ८ हजार सुनचाँदी व्यवसाय सञ्चालनमा छन् । शाक्यका अनुसार काठमाडौं जिल्लामा मात्रै करिब २ हजार ५ सय सुनचाँदी पसल छन् । त्यसमध्ये ७ सय काठमाडौं सुनचाँदी व्यवसायी संघअन्तर्गत, काठमाडौं रत्न आभूषण संघअन्तर्गत ४ सय र बाँकी अन्य संघसंगठनमा आबद्ध पसल छन् ।

महासंघले गैरकानुनी सुन कारोबार नगर्न व्यवसायीहरूलाई पटक–पटक परिपत्र गरेको शाक्यले बताए ।

नेपालमा वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउँछन् । तोकिएका बैंकले पनि दिनमा २० केजीसम्म सुन आयात गर्न पाउँछन् । त्यही सुन मात्र व्यवसायीले खरिद गर्न मिल्छ । अत्यधिक रूपमा सुन आयात हुन थालेपछि २०६७/६८ तिर सरकारसँग समन्वय गरेर कोटा प्रणाली लागू गरिएको हो । सुरुमा १० किलो, १५ किलो हुँदै आयातको कोटा बढाइएको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता रामु पौडेल सुन तस्करीसँग अपराधका अरू विषय पनि जोडिएर आउने बताउँछन् । सुन तस्करी नियन्त्रणका लागि हवाई र स्थलका अन्तर्राष्ट्रिय नाकामा नियमन–अनुगमन अझ प्रभावकारी बनाउनुपर्ने पौडेलले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *