Spread the love

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई दिएको प्राथमिकताले उत्साहित बनाएको बताएका छन् ।

बुधबार,नेपाल उद्योग वाणिज्य महासंघ र सरोकारवाला निकायले आयोजना गरेको स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले सरकारले निजी क्षेत्रलाई महत्त्व दिएको महसुस भएको बताए ।

उनले अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको सय दिनको कार्ययोजनामा महासंघले लामो समयदेखि उठाउँदै आएको उच्चस्तरीय आर्थिक सुधार आयोग गठन गर्ने विषय सकारात्मक रहेको उल्लेख गरे ।

उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको प्रस्तावमा एक प्रतिशतभन्दा बढी शेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाले लगानी गर्न चाहनेको संख्या निकै कम हुने र आर्थिक वृद्धिमै असर पर्ने उल्लेख गरे ।

उनले सरकारले बजेटमा नै स्टार्टअपका विषयमा कार्यक्रम राख्न शुरु भएको करिव एक दशक पछि स्टार्टअप परिभाषित भएको भन्दै प्रभावकारी कार्यान्वयन हुने र आवश्यकता भएका युवाहरूसम्म यो रकम पुग्ने विश्वास रहेको बताए । उनले सरकारले यस पटकको बजेटमा एक अर्ब २५ करोड रुपैयाँ स्टार्टअपलाई अनुदान प्रदान गर्न छुट्याएको बताए ।

उनले युवाहरूलाई सहायता प्रदान गर्ने इन्कुवेसन वा इनोभेसन केन्द्रहरू स्थापना गर्नुपर्ने भन्दै त्यसको सुरुवातका रूपमा महासंघले सुदूरपश्चिम प्रदेश सरकार र कैलाली उद्योग वाणिज्य संघको सहकार्यमा इन्कुवेसन केन्द्र स्थापना गर्ने प्रक्रिया सुरु गरेको बताए ।

उनले महासंघको ७७ वटै जिल्ला र नगर समेत गर्दा १२३ स्थानमा प्रतिनिधित्व भएका कारण संघीय र प्रदेश सरकारहरूसँग सहकार्य गर्न पनि आग्रह गरे ।

उनले निजी क्षेत्रलाई सरकारले प्रवर्द्धन गर्न नसक्दा युवाहरू पलायन भएको बताए । उनले नेपालमा ६५ प्रतिशत जनसङ्ख्या १५ देखि ६४ वर्ष उमेर समूहका भए पनि निजी क्षेत्र फस्टाउन नसक्दा रोजगारी दिन सक्ने मध्यपूर्व र मलेसियामा काम खोज्न गएको बताए ।

उनले नेपालले युवाहरूलाई उद्यमशीलतामा संलग्न गराउन र अर्थतन्त्रमा योगदान पुर्‍याउन ढिला भइसकेको भन्दै उनले सन् १९८० देखि २०१० भित्र अमेरिकामा स्टार्टअपहरूले करिब २५ रोजगारी सिर्जना गरेको विभिन्न अध्ययनहरूले देखाएको स्मरण गराए ।

उनले भारत संसारको तेस्रो ठूलो स्टार्ट अप सञ्जाल भएको मुलुक बनेको भन्दै अति कम विकसित मुलुक बांङ्लादेशमा वर्षको करिव १० अर्ब स्टार्ट अपमा लगानी हुन थालेको बताए ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *