दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टको विस्तारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने उद्देश्यले जिल्लाका जनप्रतिनिधि र उद्योगी व्यवसायीहरूको टोली काठमाडौं पुगेको छ।
टोलीमा दाङको निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी र नेकपा एमालेका महासचिव शंकर पोख्रेलको पहलमा बिहीबार दिउँसो प्रधानमन्त्रीलाई भेटेर टरिगाउँ एयरपोर्टको धावन मार्ग विस्तारबारे ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ।
जिल्लाबाट प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनका लागि संघिय सासदहरु दिपक गिरि,रेखा शर्मा,मेटमणि चौधरि,तुलसीपुर र घोराही उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र नरुलाल चौधरी, तुलसीपुर पश्चिमका दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाका अध्यक्षहरू शम्भु गिरी, प्रमोद बस्नेत, कुलबहादुर केसी र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी लगायतको टोली संयुक्त रूपमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ।
विगत १५ वर्षदेखि तुलसीपुर उद्योग वाणिज्य संघले एयरपोर्टको विषयमा निरन्तर पहल गर्दै आएको छ। लामो समयदेखि रोकिएको उडान पुनः सुरु गर्न पहिलो पटक २०७१ सालमा निजी कम्पनी समिट एयरसँग सम्झौता गरेर बिमान आउन सुरु गरिएको थियो। तत्कालीन अध्यक्ष बिमल रिजालको पहलमा ९ महिनापछि उडान सुरु भए पनि नाकाबन्दीको कारण देखाउँदै इन्धन अभावका कारण उडान पुनः बन्द भयो।
यद्यपि, तुलसीपुर उद्योग वाणिज्य संघले एयरपोर्टको विषयमा पटक-पटक एकल प्रयास गरे पनि यसपटक जिल्लाका स्थानीय तह तथा जनप्रतिनिधिहरूले चासो देखाएका कारण एयरपोर्ट विस्तारको आशा पलाएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले बताए।
टोलीले प्रधानमन्त्रीलाई ऐतिहासिक टरिगाउँ एयरपोर्टको विस्तार, तुलसीपुर-घोराही चार लेन सडक निर्माण लगायत जिल्लाको विकासका मुद्दाहरूमा ध्यानाकर्षण गराउने योजना बनाएको छ।
एमाले महासचिव शंकर पोख्रेलले पनि सार्वजनिक रूपमा टरिगाउँ एयरपोर्टको विस्तारका लागि आफू सक्रिय रूपमा लागि पर्ने संकेत दिँदै आएका छन्। उनले जिल्लामा आउने सार्वजनिक कार्यक्रमहरूमा एयरपोर्टको विस्तारको पक्षमा धारणा राख्दै आएका छन्।
टरिगाउँ एयरपोर्ट वि.सं. २०११ सालदेखि सञ्चालनमा आएता पनि ४/५ वर्षपछि मात्र नियमित सञ्चालनमा आएको थियो। पछिल्लो समय पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरको कार्यकालमा धावन मार्गको ७५० मिटर कालोपत्रे गरिएको थियो, जसले गर्दा साना १९ सिटे विमानहरू मात्र अवतरण गर्न सक्छन्।
धावन मार्ग विस्तार भएमा एटीआर विमानहरूले उडान भर्न सक्ने सम्भावना रहेको छ। तर, यो योजनाले अझै सार्थकता पाउन सकेको छैन। आर्थिक वर्षको बजेट वक्तव्यमा टरिगाउँ एयरपोर्ट विस्तारका लागि बजेट छुट्याइएको भनिए पनि त्यसबारे स्पष्ट जानकारी उपलब्ध छैन।
त्यस्तै, तुलसीपुर-घोराही फोरलेन सडक खण्ड पनि अलपत्र अवस्थामा छ। यसअघि भारतको एक्जिम बैंकको लागतमा सडक विस्तारको योजना रहे पनि ५ वर्षसम्म १० प्रतिशत पनि प्रगति नभएपछि सरकारले भारतीय ठेकेदारसँगको सम्झौता रद्द गरेको थियो। दाङको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित रेखा शर्मा खड्का सञ्चार मन्त्री भएपछि ठेक्का रद्द गरी भत्काइएको सडक मर्मत गरिएको थियो।