दाङमा सञ्चालन हुन थालेको एक अर्ब बढीको बबई लिफ्टिङको काम घोराहीमा धमाधम भइरहेको छ भने तुलसीपुरमा सुस्ताएको छ ।
घोराही र तुलसीपुरमा टंकी बनाउनेदेखि पाइपलाइनसम्मको काम भइरहेकोमा घोराहीको प्रगति राम्रो देखिएको छ भने तुलसीपुरमा काम सुस्त भएको खानेपानी आयोजनाले जानकारी दिएका छन् । बबईबाट दैनिक कम्तिमा दुई करोड लिटर पानी लिफ्टिङ गरी उपभोक्तामाझ पु¥याउने गरी थालिएको योजनाको अन्तिम म्याद २०८२ असार मसान्त छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले घोराहीमा र तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तुलसीपुरमा बबईको पानी लिफ्टिङ गरेर उपभोक्ता माझ पु¥याउन काम गरिरहेका छन् । घोराही क्षेत्रमा कम्तिमा एक सय २० लिटर प्रतिसेकेन्ड अर्थात करिब एक करोड लिटर र तुलसीपुर क्षेत्रमा पनि त्यसकै हाराहारीमा पानी दैनिकरुपमा संकलन गर्ने लक्ष्य अनुरुप आयोजना शुरु भएको हो । जसका लागि घोराहीमा दुईवटा सम्पवेल अर्थात ठूलो कुवा बन्दैछन् ।
तुलसीपुरको काम सुस्त
बबई लिफ्टिङ आयोजना अन्तर्गत तुलसीपुरमा भइरहेको काम भने सुस्त भएको छ । सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत बबई लिफ्टिङको काम हालसम्म ४५ प्रतिशत मात्रै पूरा भएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ । घोराहीको जस्तै नेपाल सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताको ३० प्रतिशत लगानीमा तुलसीपुरमा पनि खानेपानी आयोजनाको काम भइरहेको हो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बबईको पानी लिफ्टिङका लागि धिनेश्वर ड्रिल एण्ड निर्माण सेवा प्रालिसँग २०७९ असारमा ठेक्का सम्झौता गरेको थियो । २०८२ असार मसान्तसम्म सक्ने गरी ५६ करोड ८० लाख २४ हजार छ सय ३० रुपैयाँमा खरिद सम्झौता भएको काम अहिले निर्माण व्यवसायीका कारण सुस्त भएको बताइएको छ । उक्त ठेक्कामा सरकारको ३८ करोड ८३ लाख, १७ हजार दुई सय ४१ रुपैयाँ र उपभोक्ताको १७ करोड सात लाख तीन सय ८८ रुपैयाँ छ । उपभोक्ताको तर्फबाट अहिले पाँच प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको हो ।
नगर विकास समितिबाट १४ करोड २२ लाख ५६ हजार एक सय ५८ ऋण लिएको र बाँकी दुई करोड ८४ लाख ५१ हजार दुई सय ३१ रुपैयाँ उपभोक्ताले तिरेका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव सेवकराम भण्डारीले वर्षातमा काम नभएको बताउनुभयो ।
उहाँले खेतीपातीको सिजनमा कामदार अभाव भएर पनि काम रोकिएको जानकारी दिनुभयो । भदौ १५ गतेदेखि पुनः काम सुचारु हुने भण्डारीको भनाइ छ । आयोजनाअन्तर्गत तुलसीपुरमा टंकी बनाउनेदेखि पाइप बिछ्याउने काम जारी छ । बबई नदीबाट तुलसीपुर बजार ल्याउन लागिएको पानीका लागि मुख्य लाइनको पाइप विस्तार शीतलापुरबाट एयरपोर्टसम्म पुगेको र बसपार्क एरियामा पाइपलाइनको काम ६० प्रतिशत पूरा भएको भण्डारीले जानकारी दिनुभयो । तुलसीपुरको आयोजनाअन्तर्गत बबईको पानी शुरुमा टरिगाउँ एयरपोर्टस्थित टंकी र तत्कालीन अञ्चल प्रहरी कार्यालय नजिकको टंकीमा ल्याइनेछ । त्यसपछि अन्य सहायक टंकीमा पानी वितरण हुने संस्थाले जनाएको छ । खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव भण्डारीका अनुसार अण्डरग्राउण्ड टंकी सल्यान रोडस्थित खानेपानी कार्यालय परिसरमा, तुलसीपुर– ६ निरंकारी र १२ नम्बर वडाको कचिलामा निर्माण पुरा भइसकेको छ । कचिलामै ट्रिटमेन्ट प्लान्ट बन्दैछ भने एउटा बोरिङ तयार भइसकेको छ । कबर्डहल र शिखर कोलनीमा भइरहेको टंकी निर्माणको काम ८० प्रतिशत पुरा भइसकेको छ । खानेपानी आयोजनाको नाममा कचिलामा रहेको १० कट्ठा जग्गामा सम्पवेलको एउटा काम पूरा भयो भने दुई वटा हुने क्रममा छ ।
नया युगबोध