होटलमा रातिको समयमा निदाउन नपाउँदा स्वास्थ्यमा समस्या देखिन थालेको पीडित पर्यटकले गुनासो सुनाउने गरेका पर्यटक व्यवसायी भविश्वर शर्माले बताउनुभयो
काठमाडौँ- रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्नुहुन्न । छाँया सेन्टरको नजिकै बस्ने उहाँ निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ ।
सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुला गर्ने भनेपछि ठमेलको रात्रिकालीन व्यवसाय चलायमान हुन थालेको हो । रात्रिकालीन पर्यटन व्यवसायलाई मर्यादित र अनुशासित बनाउने उद्दश्यले व्यवसायीले आचारसंहिता बनाएर लागू गरेका छन् ।
बनेका आचारसंहिता व्यवसायीले लागू गरे पनि क्लब तथा डान्सबारमा छोटो समयका लागि रमाइलो गर्न आउने आगन्तुकले नमान्दा ठमेल आसपासमा होहल्लाका कारण ध्वनि प्रदूषणले सास्ती हुने गरेको महर्जनले बताउनुभयो ।
ठमेलको रात्रिकालीन व्यवसायको सबैभन्दा ठूलो समस्या ध्वनि प्रदूषण रहेको स्थानीय बताउँछन् । रातमा होहल्ला गर्ने, होटल, क्लबले चर्को स्वरमा गीत सङ्गीत बजाउँदा ठमेल र आसपासका बासिन्दालाई असर परेको स्थानीय मर्हजनले सुनाउनुभयो ।
“क्लब र होटलहरुलाई पटकपटक अनुरोध गरिरहेका छौँ, हालसम्म सुनुवाइ भएको छैन”, उहाँले भन्नुभयो, “प्रहरीमा कुरा पुर्याउँदा केही समय नियम पालना गरे जस्तो गर्छन्, त्यसपछि उस्तै हुन्छ ।” स्थानीयको मात्रै नभई होटलमा बस्ने पाहुना तथा पर्यटकलेसमेत ठमेल व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै आएका महर्जनले उल्लेख गर्नुभयो ।
होटलमा रातिको समयमा निदाउन नपाउँदा स्वास्थ्यमा समस्या देखिन थालेको पीडित पर्यटकले गुनासो सुनाउने गरेका पर्यटक व्यवसायी भविश्वर शर्माले बताउनुभयो । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्षसमेत रहनुभएका उहाँले २४सै घण्टा सञ्चालन गर्न बनाएको आचारसंहिता पालना नभएकाले यहाँका स्थानीय, पर्यटक र व्यवसायीलाई सास्ती हुने गरेको उहाँले जानकारी दिनुभयो ।
“ध्वनि प्रदूषण भयो भनेर पर्यटकहरुको गुनासो आउँछ”, शर्माले भन्नुभयो, “जथाभावी मादक पदार्थ सेवन गरेर सिसाका बोतल बाटोमै फाल्छन् । राति अबेरसम्म रमाइलोका नाममा चर्को स्वरमा गीत सङ्गीत बजाउँदा हामीलाई यहाँ रात काट्न सास्ती हुँदै आएको छ ।” सरोकार भएका निकायले कारबाहीको दायरामा ल्याउने कुनै पनि गतिविधि नगरेका उहाँले बताउनुभयो ।
शर्माका अनुसार ठमेल क्षेत्रमा ३६ हजार पर्यटकलाई बस्न र खानसक्ने क्षमताका होटल सञ्चालनमा छन् । कोभिडयता आन्तरिक र बाह्य पर्यटक बढ्दै गए पनि रात्रिकालीन पर्यटन व्यवसाय व्यवस्थित बनाउन नसकिएको उहाँले सुनाउनुभयो ।
ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष शर्माले आफ्नो कार्यकालमा जिल्ला सुरक्षा परिषद्, स्थानीय निकायसँग मिलेर प्रत्येक दुई महिनामा अनुगमन गर्दै आए पनि अहिले त्यस्तो निगरानी कम भएको जिकिर गर्नुभयो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले प्रहरी प्रशासनले रात्रिकालीन ठमेल र दरबारमार्ग क्षेत्रमा सञ्चालित व्यवसायलाई सुरक्षा दिई स्थानीयलाई शान्ति दिनका लागि गुनासो सङ्कलन गरी समाधानको प्रयास गरिरहेको जानकारी दिनुभयो । “यस क्षेत्रमा शान्तिसुरुक्षाका हिसाबले सन्तोषजनक रहेको छ”, उहाँले भन्नुभयो ।
अपराधजन्य क्रियाकलाप नभए पनि प्रहरीसमक्ष राति बोटोमा हिँड्नेले हल्ला गरे भनेर फोनमार्फत गुनासो आउने गरेको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले बताउनुभयो । “सुरक्षाका दृष्टिले ठमेल र दरबारमार्ग वृत्तमा थप जनशक्ति खटाएका छौँ”, उहाँले भन्नुभयो, “ट्याक्सीले बढी रकम मागे भनेर ग्राहकबाट गुनासो आउने गर्छन् । यस्तो बेला हामी तुरुन्तै प्रहरीले ठगी गर्नेलाई खोजी कारबाही गर्दै आएका छौँ ।”एनटिभि