स्कुलमा डान्स, म्युजिक, सितेरियो कराते, चित्रकलालगायतबाट एक छान्नुपर्ने भयो, आमा मनिताले तेक्वान्दो रोज्न भनिन्, तर बुवा प्रदीपले ‘छोरी लुरी छे, हान्नेरपछार्ने गेम खेल्न सक्दिन होला’ भनेपछि आमाले नै उनले यसैमा राम्रो गर्न सक्छिन् भनेर अड्डी लिएकी थिइन्
मेरी मामु मेरो ‘आइडल’ हो । अरूले यसले गर्न सक्दिन भन्दा पनि मामु अडिग भएर मेरो पक्षमा उभिनुभयो । म आज जे र जहाँ छु सबै उहाँकै सृष्टि, सिर्जना र प्रेरणाको कारणले छु ।(पलेशा गोवर्धन
पारा ओलम्पियन पलेशा गोवर्धनका टिल्पिलाइरहेका आँसुका ढिक्का गालादेखि तल झर्न थाले, अब हारें भन्ने लाग्यो उनलाई । नेपाल र नेपाली सम्झिइन्, तुरुन्तै आमाको मुहार याद आयो अनि भिडियोकल लगाइन् ।
स्क्रिनमै भए पनि आमा मनिता श्रेष्ठ गोवर्धनले उनको आँसु पुछिदिइन् र भनिन्, ‘छोरी चिन्ता नगर, यस पटकको तिम्रो गोल्ड मेडल मरेको हो, सपना मरेको होइन । यो हारले तिमीले फेरि जित हासिल गर्नेछ्यौ । मेरो माया, साथ र आशीर्वाद तिम्रो शिरमा छ ।’ त्योबेला आफूले आमाको मन अमिलिएको र चित्त दुखेको मलिन अनुहारबाटै पढेको पलेशाले हालै काठमाडौंको एक बसाइमा सुनाइन् ।
यो घटना त्यतिबेलाको हो जतिबेला पलेशा फ्रान्समा आयोजित पारा ओलम्पिकमा खेलिरहेकी थिइन् । स्वर्ण पदक ल्याउने उनको सपना प्रतिस्पर्धीसँगको झिनो अन्तरले सकिएको थियो । त्यसपछि उनले विक्षिप्त हुँदै आमालाई भिडियोकल गरेकी थिइन् । भिडियोकलमा आमाछोरीको उक्त संवाद पछि आफूमा एक किसिमको ऊर्जा र जाँगर भरिएर आएको उनले अनुभव गरिन् । भन्छिन्, ‘खै मेरी मामुमा के शक्ति छ, मलाई आकलन गर्न हम्मे पर्छ । कोही मेरो साथ नहुँदा अनि कसैले विश्वास नगर्दा पनि उहाँ एक्लैको न्यानो स्पर्श, प्रेरणा अनि विश्वासले ममा संसार जित्न सक्छु भन्ने आँट आउँछ । हुन त सबैका आमा आफ्ना सन्तानका लागि यस्तै त होलान् नि हैन रु संसारका हरेक आमाहरू महान् छन् ।’
भर्खरै २० वर्ष पार गरेकी पलेशाको जीवनको प्रायः सबै समय आमासँगै बितेको छ । आमाको समय दिदी र बहिनीले भन्दा बढी उनैले पाएकी छन् । जन्मिँदै देब्रे हातका औंला नभएकी उनका लागि आमाको हत्केला नै आफ्नो बनेको छ । आमाको हातले खाने बानी परेपछि आफ्नो हातको स्वाद बेस्वाद जस्तै लाग्थ्यो उनलाई । उनलाई आफू अपांगता भएको व्यक्ति भएकोमा भन्दा आमाको आफूप्रतिको चिन्ताको ज्यादा पीर हुन्थ्यो । उनका अनुसार आफू सानो छँदा जस्तै गर्मीमा पनि आमाले निक्कै लामा बाउला भएका लुगा लगाइदिन्थिन् ताकि तिनै कपडाले अरूका आँखा छोपिउन्, अपांगता त्यसैभित्र लुकोस् । तर आमाको मन र मस्तिष्कबाट भाव पर जाँदैन्थ्यो, लामा बाउलायुक्त पहिरनले उनको मनको चिन्ता छोपिँदैन्नथ्यो ।
‘मेरै कारण मेरी मामु एक्लै बसेर कति रुनुहुन्थ्यो । कतिपय आफन्त या इष्टमित्रकहाँ जानैपर्ने हुँदा पनि जानुभएन होला, कैयौं समयमा मन भारी भइराख्यो होला,’ आमालाई महसुस गर्दै पलेशा भन्छिन्, ‘त्यसैले त होला नि उहाँले मलाई चैतरवैशाखको गर्मीमा पनि हात छोप्ने लुगा मात्रै लगाइदिनुहुन्थ्यो । कहिल्यै पनि त्यो पीडाको छायासम्म पर्न दिनुभएन । हामी सन्तानको अगाडि जहिल्यै हाँसो मात्रै देखाउनुहुन्छ । त्यसलाई मैले सन्तानप्रतिको आमाको चिन्ताका रूपमा बुझेकी छु । मेरो जीवनका चुनौतीका चाङ मैलेभन्दा बढी मेरी आमाले पार गर्नुभएको छ ।’
पलेशाको घरमा बोलाउने नाम बेञ्जु हो । उनकी दिदी हाल बेल्जियममा अध्ययनरत छिन् भने बहिनी यहीं ११ कक्षामा पढ्दै छिन् । पलेशा सानो छँदा दिदीलाई निक्कै कुट्ने गर्थिन् रे । ‘दिदीलाई कुट्दा म रमाउँथें रे, मामुले भन्नुभाको,’ बाल्यकालीन स्मृतिमा पुग्दै पलेशाले भनिन्, ‘पहिलो दिन स्कुलमा तेक्वान्दो खेलेर आएपछि मैले केटाहरूलाई कुट्न पाइँदो रहेछ, मलाई त एकदमै रमाइलो लाग्यो भनेर मामुलाई नै पहिलो पटक सुनाएको थिएँ रे ।’ हरेक कुरा पहिले आमालाई नै सुनाउने पलेशा आफ्नो मिल्ने र सबैभन्दा नजिकको साथी नै आमा भएको बताउँछिन् । तनावग्रस्त भएका बखत आमाको अनुहार हेर्दा सन्तोष मिल्ने उनले अनुभूति गरेकी छन् । उनका लागि करियरको मात्रै नभई व्यक्तिगत जीवनको पनि एकमात्र भावनात्मक साथी हुन् आमा । ‘मैले नै मेरो विश्वास गर्न नसकेको अवस्थामा पनि उहाँले मप्रति विश्वास राख्नुहुन्छ,’ आमाका हरेक कुरामा उज्यालो अनुहार बनाउँदै उनी भन्छिन्, ‘त्यसपछि त त्यो कुरामा विश्वासका साथ अगाडि बढ्न बाध्य हुन्छु ।’ सन्तानलाई प्रेरित गर्ने आफ्नी आमाको यो खुबी पलेशालाई गजब लाग्छ ।
आमा मनिताले पलेशालाई सुनाएअनुसार पलेशा हुर्किंदा अत्यन्तै लुरी, खाना नखाने, झोल मात्रै पिउने तर पनि निकै दह्री थिइन् रे । सानैदेखि आमासँग लुटपुटिने बानी परेकी पलेशाको त्यो स्वभाव अझै पनि रहेछ । अहिले पनि पलेशा अलिकति फुर्सद भयो कि आमाकै वरिपरि घुमिरहन्छिन् । ९ वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशाकी पहिलो गुरु नै आमा हुन् भन्दा फरक पर्दैन । स्कुलको अतिरिक्त क्रियाकलापमा डान्स, म्युजिक, सितेरियो कराँते, चित्रकलालगायतबाट एउटा छान्नुपर्ने हुँदा उनलाई आमाले नै तेक्वान्दो रोज्न लगाएकी थिइन् । उनकी आमालाई लाग्यो हाम्रा छोरा छैनन्, सुरक्षा तथा प्रतिरक्षाका लागि पनि पलेशालाई तेक्वान्दो खेलाउनुपर्छ । आमाको निर्णयमा परिवार नै अचम्भित भएको थियो । बुवा प्रदीपले ‘छोरी लुरी छ, तेक्वान्दो जस्तो हान्ने, पछार्ने गेम खेल्न सक्दिन होला’ भन्दा आमाले नै उसले यसैमा राम्रो गर्न सक्छे भनेर प्रतिकार गर्दै तेक्वान्दो नै खेलाउने अड्डी लिएकी थिइन् । त्यसपछि स्कुलमा तेक्वान्दो खेलेको पहिलो दिन नै पलेशा निकै प्रफुल्ल हुँदै घर फिरेकी थिइन् । छोरीको अनुहारको त्यो चमक र मनको खुसीले मनितालाई आफ्नो निर्णय सही भएकोमा सन्तोष मिलेको थियो ।
पलेशाले तेक्वान्दोमा राम्रो गर्दै गएपछि स्कुलका शिक्षकले उनकी आमालाई खोज्न थाले, तारन्तार फोन गर्न थाले । मनिता भने हातकै कारणले अब छोरीले तेक्वान्दो खेल्न सक्दिन भन्ने पो हुन् कि भन्ने डरले फोन नै नउठाई बस्थिन् रे । स्कुलमा भएको अभिभावक मिटिङको दिन तेक्वान्दो प्रशिक्षक मनितालाई खोज्दै आएछन् र भनेका थिए रे, ‘स्कुलमा साताको एक दिनको प्रशिक्षणले पलेशालाई पुग्दैन । उनले खेलमा निक्कै राम्रो गरिरहेकी छन् । अब स्कुल बाहिर तालिमका पठाउनुपर्छ । उनको भविष्य उज्ज्वल छ ।’ यो सुन्नासाथ मनितामा एकाएक हौसला बढेर आयो, डर हरायो । भोलिपल्टै बाफलस्थित डोजाङमा तालिमका लागि भर्ना गरिदिइन् । ‘मेरी मामु मेरो आइडल हो । अरूले यसले गर्न सक्दिन भन्दा पनि मामु अडिग भएर मेरो पक्षमा उभिनुभयो । म आज जे र जहाँ छु सबै उहाँकै सृष्टि, सिर्जना र प्रेरणाको कारणले छु ।’
सामान्यतया पुरुषहरू खेलकुदमा अब्बल हुने आम बुझाइ छ । पुरुषको सुगठित शरीर र बलका कारण जित हासिल गर्न सक्ने ठानिन्छ । यस्तोमा महिला त्यसमाथि पनि अपांगता भएको शरीरले कतिसम्म धान्न सक्ला रु पलेशाप्रति पनि धेरैको बुझाइ त्यही थियो । तर उनले यस्ता सामाजिक सोच र धारणालाई चुनौती मात्रै दिइनन्, यसैमा आफूलाई अब्बल सावित गरेर संसारलाई जित देखाइदिइन् । यो जितको पछाडि उनकी आमाको विशेष हात र बलियो साथ छ । पलेशाका लागि पौष्टिक खाना, उपयुक्त पहिरन, आरामका लागि समय संयोजन र व्यवस्थापन लगायतका काम कुरामा आमाले दिनरात नभनी मिहिनेत गरेकी छन् । ‘मेरो खानपान, लुगाफाटो, सुत्ने समयबारे मामुलाई असाध्यै चिन्ता हुन्छ । विदेशमा खेल्न जाँदा त झन छिनछिनमै फोन आउँछ । खाएको पनि भिडियोकल गरेर देखाउनुपर्छ ।’ आमाको ममता र हेरचाहले भावुक हुने गरेकी उनी भन्छिन्, ‘अल्छी लागेको बेला ह्या भनेर नखाई बसौं भन्दा पनि मामुको याद आएपछि खान मन लाग्छ । समयमै सुत्न मन लाग्छ ।’
पलेशाले सुनाएअनुसार उनकी आमा कहिल्यै छोरीको खेल प्रत्यक्ष हेर्दिनन् । ‘प्रतिस्पर्धीले मलाई हान्दा मामुलाई दुख्छ रे, उहाँ सहन सक्नुहुन्न रे । तिमीलाई हानेको देख्दा मलाई पीडा हुन्छ, तिमी ज्यान फालेर खेल्छौ, भन्नुहुन्छ ।’ आफू पनि आमाको शरीरकै एक अंग भएकाले यस्तो भएको होला भन्दै पलेशा थप्छिन्, ‘म उहाँकै अंश हुँ नि त । म गेम खेलिरहँदा उहाँको काम भनेकै मेरा लागि प्रार्थना गरेर बस्ने हो ।’ त्यो दिन पनि त्यस्तै भयो । जुन दिन उनी पारा ओलम्पिक खेलिरहेकी थिइन् । घर, परिवार, दिदीबहिनी, बुवालगायत पूरै देश नै पलेशाको ‘लाइभ गेम’ हेरिरहेको थियो । उनकी आमा भने प्रार्थना गरेरै बसिरहेकी थिइन् । जब पलेशा ‘गोल्ड मेडल’को अत्यन्तै नजिक पुगिन् तब मुलुकले हर्षोल्लासका साथ उत्सव मनाउने तयारी गर्दै थियो ।
त्यही बेला पलेशा १ पोइन्टले हारिन्, सबै स्तब्ध भए । पलेशा शून्यमा झरिन् । उनलाई के गरौं कसो गरौं छटपटी हुन थाल्यो । सारा नेपाल र नेपाली सम्झिइन् । अब के हुन्छ भन्ने लाग्यो । सोही बेला उनको आशाको दियो, जीवन जिउनुको आधार आमालाई सम्झिइन् अनि भिडियोकल गरिन् । आमासँगका संवादपछि उनमा पुनः एक पटक जोस, जाँगर र ऊर्जा भरिएर आयो । गलेको शरीर र निराश मनलाई आमाका प्रेम र आशाले भरिएका शब्दले तन्दुरुस्त बनाइदिए । फेरि एक पटक पलेशा उठिन्, आमाका लागि जित्नु थियो । शतप्रतिशत तन, मन लगाएर खेलिन् । अनि तेस्रो हुँदै कांस्य पदक हात पारेर नेपालको लागि पहिलोपटक पारा ओम्पियन बन्न सफल भइन् ।
‘यो मेडल सर्वप्रथम मेरी मामुलाई अनि सम्पूर्ण नेपाल र नेपालीलाई समर्पण गर्छु,’ प्रफुल्ल मुद्रामा गर्वका साथ पलेशाले भनिन् ।
कान्तिपुरबाट