दाङ । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ मनाउन लागिएको दिवसका अवसरमा देशका विभिन्न ठाउँमा कार्यक्रम गरिदैछ ।
दाङमा पनि लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाले घोराहीमा लम्बिनी प्रदेश स्तरीय कार्यक्रमको आयोजना गरी मनाउन लागेको छ । आजको दिनलाई महोत्सवकै रुपमा विभिन्न संस्कृति झल्किने झाँकीसहित मनाउने भनिएतापनि मौसम खरावीका कारण कार्यक्रम घोराहीको बहुउद्देश्यीय हलमा सीमित हुने भएको छ ।
केही दिन भव्य रुपमा दिवसलाई जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा आयोजना गर्ने भन्दै पत्रकार सम्मेलन गरेको दिवस मूल आयोजक समितिले आज मौसम खरावी भन्दै हलमा कार्यक्रम गर्ने जानकारी दिएको छ । कार्यक्रमको लागि करीव १० लाख खर्च हुने आयोजकले बताएको थियो ।
कोरोनाका कारण लिथो परेको नेपालको पर्यटन क्षेत्र केही समयदेखि उकालो लाग्ने अवस्थामा छ । नेपाल एउटा प्राकृतिक सौन्दर्यताले भरिएको देश भएकाले पनि नयाँ पर्यटनको सम्भावना धेरै छ ।