काठमाडौँ । पछिल्लो समय बहुचर्चित बनाइएको धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको प्रक्रिया पुनः रोकिएको छ । सर्ट लिस्टमा परेका तीन उम्मेदवारलाई अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुत गर्न शुक्रबार सिंहदरवार बोलाइएको भए पनि शुक्रवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुत हुन नसकेसँगै रोकिएको हो ।
स्रोतका अनुसार अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। शिवराज अधिकारी तथा तीन उम्मेदवार सहभागी नभएपछि अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुति रोकिएको हो । बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ तथा नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतिका लागि बोलाइएको थियो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार अध्यक्ष छनोटका लागि गठित समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। शिवराज अधिकारी डेंगुका कारण अस्पताल भर्ना भएकाले अन्तर्वार्ता रोकिएको जनाइएको छ ।
सर्ट लिस्टमा परेका तीन उम्मेदवार अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतिमा सहभागी नभएपछि गठित सिफारिस समितिले नाम सिफारिस गर्न सकेको थिएन । नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रियाबाट नियुक्ति अर्को सिफारिस समिति बनाएकोमा सर्ट लिस्टमा परेका एक उम्मेदवारले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेपछि अदालतले नयाँ प्रक्रिया सुरु नगर्न आदेश दिँदै माघ ३० गतेका लागि पेशी तोकेसँगै नयाँ प्रक्रियाबाट अघि बढ्न रोकिएको थियो ।
तर पुरानै प्रक्रियाबाट अध्यक्ष नियुक्तिका लागि बाटो खुला भएपछि तीन उम्मेदवारलाई आज अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुतिका लागि बोलाइएको थियो ।
२०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन रहेको धितोपत्र बोर्डमा अर्थ मन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।