बेहुली फ्रम मेघौली : उम्दा छिन् स्वस्तिमा

ByNews

२०८१ आश्विन १९, शनिबार ०७:२६ २०८१ आश्विन १९, शनिबार ०७:२६ २०८१ आश्विन १९, शनिबार ०७:२६
Spread the love

काठमाडौँ- मीना न्यौपाने (स्वस्तिमा खड्का) उमेर २९। उमेर २९ भए पनि तीन र शुन्ना अर्थात् ३० टेक्न लामो समय छैन। परिवार र समाजको उनीमाथि विवाहको चर्को दबाब छ। दबाबकाबीच पनि ७ वर्षदेखि अष्ट्रेलियामा रहेका प्रेमीलाई कुरेर बसेकी छन्। प्रेमी नेपाल फर्किन्छन् र ७ वर्षदेखि कुरिरहेकी मीनालाई विवाह गर्न नसक्ने बताउँछन्।
७ वर्षदेखि कुरेको प्रेमीबाट यो जवाफ सुनेपछि टुटेकी मीना आफ्नो प्रेमलाई फर्काउने अनेक कोसिस गर्छिन् भने उता परिवार जसरी नि छोरीको विवाह अन्त भने पनि गर्ने धुनमा छन्। यही सेरोफेरोमा स्वस्तिमा खड्का, निश्चल बस्नेतको मुख्य भूमिका रहेको ‘बेहुली फ्रेम मेघौली’को कथा घुमेको छ।
सिनेमालाई साजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन्। दुवै सिनेमाका लेखेक समेत हुन्।
विषयका हिसाबले सिनेमा तारिफयोग्य छ। उमेरमै छोरीको विवाह हुनुपर्छ र गर्नुपर्छ भन्ने मान्यताका साइडइफेक्ट प्रस्तुत गर्दै विवाह व्यक्तिको एकल स्वतन्त्रता र रोजाइको विषय हुनुपर्छ भन्ने कुरालाई सिनेमाले जोड दिएको छ। यस्तै सिनेमाले विवाह अब सामाजिक र पारिवारिक विषयमात्र रहेन यो एउटा पूँजीवादको नाफा-नोक्सानको एउटा हिसाबसमेत हुन थालेको कुरालाई पनि सिनेमाले प्रस्तुत गरेको छ।
यसर्थ कथा र विषयका हिसाबले सिनेमा राम्रो छ। तर विषय राम्रो हुनु मात्रले सिनेमा राम्रो हुँदैन। विशेषतः स्क्रिनेप्लेको माध्यमबाट प्रस्तुतिले त्यसलाई छुट्याउने काम गर्छ।
पटकथाका हिसाबले सिनेमा लेखनमा बराल र काफ्लेले इमानदार लेखनी गर्ने प्रयास गरेका छन्। यद्यपि, निश्चल बस्नेत तथा रक्षा थापाको भूमिकालाई केही फराकिलो बनाउँदा सिनेमा थप बलियो हुन्थ्यो। उनीहरु आफूले भन्न खोजेको कथामा स्पष्ट छन्, जुन धेरै नेपाली सिनेमामा भेटिन गाह्रो पर्छ।
कथा समग्रमा सलल बगेको छ। यद्यपि, पहिलो हाफका केही ठाउँमा सिनेमा एउटै बिन्दुमा अल्मलिएको महसुस हुन्छ जसको शोधभर्ना दर्शकले दोस्रो हाफमा पाउँछन्।
सिनेमाले आफ्नो कथालाई हास्यरसमा भन्ने काम गरेको छ। जसमा दर्शकको मनोरञ्जनको अपेक्षा पूरा हुन्छ। सिनेमाको अन्त्य जसरी हुन्छ त्यसले दर्शकलाई सन्तुष्टि प्रदान गर्दछ। अझ विशेषगरी युवती दर्शकले यसलाई विशेष मनपराउनेछन्।

यसैगरी अभिनयका हिसाबले स्वस्तिमा खड्का सबैभन्दा अगाडि छिन्। उनले आफ्नो पात्रको मनोदशालाई मौखिक-गैरमौखिक दुबै पक्षबाट उत्कृष्ट रुपमा पस्किएकी छन्। पछिल्ला सिनेमाकी स्वस्तिमा यसमा देखिनन्, पर्दामा उनी ठ्याक्कै मिना भएकी छन्। उनका हरेक सिनेमामा हुने विशेषता हो यो।
पात्र प्रस्तुतिमा निश्चलले भने नयाँपन दिन सकेका छैन। उनको काम सामान्य छ। उनले पात्रको मनोदशालाई खासै प्रस्तुत गर्न सकेका छैनन्, पर्दामा उनी ज्यादा मौखिक छन्,भावप्रधान छैनन्। उनले आफ्नो पात्रको व्यक्तिवलाई पर्दामा प्रस्तुत गर्न सकेका छैनन्। निश्चलले यसमा ध्यान दिनुपर्ने जरुरी छ। यस्तै सिमरन खड्काले राम्रो काम गरेकी छन् भने रक्षा थापाले जत्ति स्क्रिन स्पेस पाएकी छन्, त्यसमा आफूलाई राम्रो देखाउने कोसिस गरेकी छन्, उनको भूमिकालाई अझ वजनदार बनाउन सकिन्थ्यो।
यस्तै लोकेन्द्र लेखकको अभिनयशैली अरु सिनेमाको जस्तै छ, उनले स्पेस पाइकन पनि आफूलाई आफ्ना अघिल्ला सिनेमाभन्दा फरक पार्न सकेका छैनन्। विशेषतः उनको संवादशैली अघिल्ला सिनेमाका जस्तै छन्।
यसैगरी विजय वरालको कमिक टाइमिङ सिनेमाभित्र तड्का हो भने आमिर गौतमलाई अर्को तड्का बनाउन सकिन्थ्यो तर त्यसो हुन सकेको छैनन्। उनले पात्र अनुसारको अभिनय गर्न सकेका छैनन् जसका कारण उनी सिनेमा भित्रको रोचक पात्र भइकन पनि त्यसको फाइदा उनले उठाउन सकेका छैनन्। यस्तै सरोज अर्याल अक्सर सानो भूमिकामा देखिन्छन् तर सँधै असरदार सावित हुन्छन। यो सिनेमामा पनि उनको अभिनय स्वभाविक छ जसलाई दर्शकले बिर्सने छैनन्।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *