दाङ । लमही नगरपालिका–३ मा पर्ने जखेरा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तालको मनमोहक दृश्यले यहाँ पुग्न सबैलाई आकर्षित गर्दछ ।
चुरे पहाडको फेदमा रहेको पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिटिक्क परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदको बीचमा पर्ने जखेरा ताल अवस्थित छ । यहाँको मनमोहक दृश्य, पूर्वाधार विकासलगायत कारणले आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा जखेरा ताल रहेको स्थानीय बताउँछन् ।
अहिले ताल अवलोकन, घुमघाम गर्ने, वनभोज खानेलगायत प्रयोजनका लागि दैनिक दुई सयदेखि तीन सयको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गरेका जखेरा तालका कर्मचारी ओमभक्त चौधरीले बताउनुभयो । उहाँका अनुसार बिदाको दिनमा छ–सात सयसम्म पर्यटकहरू आउने गर्दछन् ।
लुम्बिनी प्रदेशको राजधानीबाट नजिक पर्ने सो ताल अहिले पर्यटकको आकर्षक केन्द्र बन्दै गएको हो । प्रदेश राजधानीमा आएका अन्य जिल्लाका सरकारी, सङ्घसंस्थाका प्रतिनिधिहरू समय अनुकूल परेर जखेरा अवलोकनका लागि यहाँ आउने गरेका चौधरीले बताउनुभयो । बाह्र बिघा क्षेत्रफल रहेकामा अहिले साढे सात बिघा ताल फैलिएको छ ।
दाङको लमही बजारबाट छ किलोमिटर पूर्वमा रहेको सुनडबरी गाउँ हुँदै उत्तरतर्फ करिब दुई किमी दूरी यात्रा गरेपछि ताल भएको स्थानमा पुगिन्छ । पूर्वपश्चिम राजर्मागबाट नजिक रहेकाले पनि भारत तथा तेस्रो मुलुकबाट ताल हेर्न पर्यटक आउने गर्दछन् ।
तालको वरिपरि बाँकी ठाउँमा वनजङ्गल छ । तालको गहिराइ छदेखि सात फिटसम्म रहेको जनाउँदै कर्मचारी चौधरीले उत्तरतर्फ गणेशको र पूर्वमा सिद्देश्वर महादेवको मन्दिर अवस्थित रहेकाले धार्मिक पर्यटकको आकमन पनि हुने गरेको बताउनुभयो । यहाँ आउने पर्यटक ढुङ्गा चढेर मन्दिर दर्शन गर्दछन् ।
तालको मुख्य आकर्षणमा वनभोजस्थल, फूल बगैँचा, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकनलगायत हुन् । “तालमा ढुङ्गा चढ्नका लागि पर्यटक निकै उत्साहित हुन्छन् । सात वटामात्र डुङ्गा भएकाले सिजनमा पालो कुनुपर्दछ । केही पर्यटक ढुङ्गा चढ्न नपाएर फर्केने गर्नुहुन्छ”, कर्मचारी चौधरीले भन्नुभयो । एक जनाले पूरै तालमा ढुङ्गा चढेर जलविहार गरेमा रु एक सय शुल्क लिने गरिएको जनाउँदै उहाँले यहाँ सात जनाले रोजगारी पाएका उल्लेख गर्नुभयो ।
ताललाई अझै सफा, स्वच्छ राखी थप भौतिक पूर्वाधार निर्माण गर्नसके यस क्षेत्रको पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयस्तर वृद्धि हुने रजौरेले बताउनुभयो । यस क्षेत्रको प्रचारप्रसारमा स्थानीय निकायले सहयोग गर्नपर्ने भन्दै पूर्वाधार विकास गरी बाह्य पर्यटक आगम बढाउने योजनाअनुसार काम गर्नुपर्ने सुझाव दिनुभयो ।
“ताल जलकुम्भी झार र माटोले पुरिएको थियो । तत्कालीन जिल्ला भू–संरक्षण कार्यालय दाङ, कृषि विकास कार्यालय, संरक्षण समिति, लमही नगरपालिका, राष्ट्रिपति चुरेसंरक्षण कार्यक्रम, डिभिजन वन कार्यालय, लुम्बिनी प्रदेश सरकार तथा यहाँका नागरिकहरूको सहयोग तथा संरक्षणले यो अवस्थामा आउन सफल भएका हौँ”, उपाध्यायले भन्नुभयो ।