काठमाण्डौं,९ फागुन । माघ महिनामा आगलागीमा परी २२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघमा देशभर ४ सय ७८ वटा आगलागीका घटना हुँदा २२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक रहेका छन् । माघमा आगलागीमा परी २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएका छन् । आगलागीमा परी दुई सय ४७ चौपाया मरेका प्रहरीले जनाएको छ ।
माघ महिनामा प्रदेशगत रूपमा सबैभन्दा धेरै कोशी प्रदेशमा एक सय २९ वटा आगलागीका घटना भएका छन् । यस्तै मधेशमा ८९, बाग्मतीमा ४२, गण्डकीमा ३९, लुम्बिनीमा ६३, कर्णालीमा ३२ र सुदूरपश्चिममा ४७ वटा आगलागीका घटना भएका प्रहरीको तथ्याङ्क छ । यसैगरी काठमाण्डौ उपत्यकामा ३७ वटा आगलागीका घटना भएका छन् । माघमा आगलागीबाट ६८ घर र ६६ गोठमा क्षति पुग्दा १७ जना विस्थापित भएका प्रहरीले जनाएको छ । आगलागीका घटनाबाट एक महिनामा १८ करोड ४८ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्याङ्क छ ।