दाङ, २२ वैशाख ।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग वाणिज्य संघले बजार स्थापनामा जोड दिन आवश्यक रहेको बताएका छन् ।
नारायणपुर उद्योग वाणिज्य संघको २० ओैँ साधारणसभामा बोल्दै अध्यक्ष शर्माले व्यवसाय चलायमान बनाउनका लागि संघले बजार स्थापना तथा व्यवस्थापनमा जोड दिन आवश्यक रहेको बताएका हुन् ।
संघले व्यापार, व्यवसाय प्रवर्द्धनका लागि बजार व्यवस्थापनमा लाग्नुपर्छ । बजारलाई चलायमान बनाउनका लागि स्थानीय उपभोक्ताका मागलाई पूरा व्यवसाय सञ्चालन गर्नुपर्छ । पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने पर्यटन व्यवसाय सञ्चालन गर्न आवश्यक छ । शिक्षा, स्वास्थ्य, संस्कृति लगायतका क्षेत्रलाई सम्बोधन गर्ने योजना संघले बनाउनुपर्छ ।
अध्यक्ष शर्माले थपे, स्थानीय उत्पादनलाई बजार व्यवस्थापन गरी स्थानीय उत्पादन बृद्धिलाई जोड दिन सक्नुपर्छ । स्थानीय विशेषतालाई प्रचारप्रसार गरी बजार चलायमान बनाउन संघले भूमिका खेल्नुपर्छ ।