Spread the love

विनिल केसी तुलसीपुर उद्योग वाणिज्य संघ अध्यक्षका उम्मेदवार
तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यही वैशाख २९ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्वका लागि नेपाली कांग्रेसको एकल र कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा, लोसपालगायतका आठ दल समर्थित व्यवसायीहरुको अर्को प्यानल गरी दुई प्यानल नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन् । व्यावसायिक हितमा काम गर्ने भन्दै दुबै प्यानल यतिबेला मत माग्न घरदैलोमा व्यस्त छन् । तपाईंहरुकै नेतृत्व किन त ?  यसै सन्दर्भमा युगबोधकर्मी जे.एन. सागरले अध्यक्ष पदका प्रत्यासी विनिल केसीसँग गर्नुभएको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ । – सम्पादक
तपाईंको उम्मेदवारी किन ? 
व्यावसायिक एकता कायम गर्ने, आइपरेका समस्या तथा देखिएका आर्थिक मन्दीका समस्या समाधानका लागि हाम्रो उम्मेदवारी हो । कतिपय हामी आफैले पनि संस्थागतरुपमा समाधान गर्न सकिन्छ भने कतिपय मातृ संस्था तथा तीन तहका सरकारसँग समन्वय गरेर सम्बोधन गर्नका लागि पनि हाम्रो उम्मेदवारी हो । अहिलेको अवस्थामा युवा पुस्ता विदेश पलायन हुने ठूलो समस्या छ । व्यवसायीहरु आर्थिक समस्याले पेशाबाटै पलायन हुने अवस्था पनि छ । मोफसलका व्यवसायी सबैलाई समस्या छ । यति हुँदाहुँदै पनि यावत समस्या समाधान गर्दै स्वदेशमै गरे केही हुन्छ भन्ने सन्देश प्रवाह गरेर युवाहरुलाई व्यवसायमा आकर्षित गर्नुपर्नेछ । नेपालमा केही होइन भन्ने होइन युवाहरुलाई उद्यमशीलतासँगै व्यापारसँग जोडेर एउटा सकारात्मक सन्देश दिनका लागि पनि हाम्रो उम्मेदवारी हो ।
यी समस्या समाधान गर्ने एजेण्डा के छन् त ? 
विशेषगरी व्यावसायिक मुद्दाहरुलाई सम्बोधन गर्न जरुरी छ । व्यवसाय सञ्चालन गर्दा पर्ने समस्या, सचेतना, क्षमता बृद्धि र व्यावसायिक सीपलाई प्रवद्र्धन गर्ने हो । आफ्नै मातृ संगठन नेपाल उद्योग वाणिज्य महासंघ, तीन तहका सरकारलाई यस्ता प्रवद्र्धनात्मक कार्यक्रम र समस्या समाधानका लागि दबाब सिर्जना गर्ने काम हामी गर्छौं । अर्काे कुरा राज्यकै व्यावसायिक नीति निर्माणमा पनि निजी क्षेत्र एउटा सल्लाहकारका रुपमा भूमिका खेल्ने काम हामीले गर्नेछौं । यस्ता थुप्रै एजेण्डा बोकेर हामी चुनावी मैदानमा उत्रिएका छौं । आज उम्मेदवारका रुपमा आउँदा मात्रै होइन हिजैदेखि उद्योग वाणिज्य संघमा रहेर व्यावसायिक हितका लागि काम गरिरहेको आम मतदातालाई जानकारी नै छ । त्यसैले उद्योगी व्यवसायीमैत्री नीति नियम तर्जुमामा भूमिका खेल्नेलगायतका एजेण्डा हामीले अघि सारेका छौं ।
मन्दीले थलिएको व्यवसाय यो नेतृत्वले उकास्ला भन्ने आधार के ? 
मुख्य कुरा युवा नेतृत्व नै यसको प्रमुख आधार हो । अर्को कुरा यही क्षेत्रमा क्रियाशील उम्मेदवार भएकाले व्यावसायिक क्षेत्रका समस्या बुझेको नेतृत्व छ । जुन समस्या आम व्यवसायीले झेल्नु भएको छ यो नेतृत्वले पनि झेलेर यहाँसम्म आइपुगेकाले यसको समाधान खोज्न युवा नेतृत्व सक्षम छ । प्लस टु सकेर विदेश पलायन हुने समस्याले युवा मात्रै होइन उपभोक्ता पनि गुमाएको छ । तसर्थ उत्पादनमा युवाहरुलाई जोड्ने र उद्यमशीलताको विकास गरेर यहीं रोजगारीको विकास पनि गर्न सकिन्छ । त्यो क्षमता यो नेतृत्वमा छ ।
जित्ने आधार के छ ? 
जुनसुकै क्षेत्रमा पुस्तान्तरणको माग उठिरहेको छ । त्यो स्वाभाविक पनि छ । मैले अग्रजहरुलाई सम्मान व्यक्त गर्न चाहन्छु । प्रतिस्पर्धामा रहनुहुने सबैमा मेरो सम्मान छ । तर हामी नै किन भन्ने कुरामा हामी युवाहरुको नेतृत्व स्थापित गरेर व्यावसायिक हितको कामलाई अलि फरक हिसावले सम्बोधन गर्न चाहन्छौं र सक्छांै पनि । हामीप्रतिको त्यो विश्वास मतदाताहरुमा छ ।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *