डिजिटल परिचय पत्र जारी
तुलसीपुर उद्योग बाणिज्य संघको शनिबार हुने मतदानको सम्पूर्ण तयारी पुरा भएको छ । अब शनिबार बिहान र मतदानको मात्रै प्रतिक्षा छ ।
बाणिज्य संघको तुलसीपुर बजारस्थित भवनमा २७ वटा मत खसाल्ने ठाउँ निर्माण गरिएको छ । निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले फरककोणलाई दिएको जानकारी अनुसार माथिको हलमा २२ वटा र भूइ तलामा पाँच वटा मत खसाल्ने ठाउँ निर्माण गरिएको छ ।
निर्वाचन संयोजक लम्सालका अनुसार आवश्यक परे थप तीन वटासम्म मत खसाल्ने मिल्ने ठाउँ तयारी अवस्थामा राखिएको छ ।
निर्बाचन सयोजक प्रवीण लम्सालका अनुसार एकै पटक २७ जनासम्मले मतदान गर्न पाउने ब्यबस्था मिलाइएको छ ।
तीन बर्षे कार्यकालका लागि तुलसीपुर उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व चुन्न यस पटक तीन हजार चार सय ७४ जना मतदाताले मताधिकार पाएका छन् ।
सघंको नेतृत्व चुन्न शनिबार बिहान आठ बजेदेखि बेलुका पाँच बजेसम्म मतदानको समय तोकिएको छ ।
निर्वाचन समितिले मतदाताले संघले प्रदान गरेको मतदाता परिचय पत्र, त्यसबाहेक नागरिकता वा राष्ट्रिय परिचय पत्र ल्याउनु पर्ने नियममा उल्लेख छ । त्यस्तै संभावित फर्जी मत रोक्न यो पटक डिजिटल परिचय पत्रको ब्यबस्था गरिएको छ । पुराना परिचय पत्र धारिको हकमा स्पष्ट परिचय खुल्ने प्रमाण ल्याउनु पर्ने ब्यबस्था गरिएको छ ।
निर्वाचन सकिए लगतै मतगणना सुरु हुने र गणना सकिना साथ निर्वाचित उम्मेदवारको प्रतिफल प्रकासित गरिने भएको छ । तुलसीपुर बाणिज्य संघको नेतृत्वका लागि दुई प्यानल चुनाबी प्रतिष्पर्धामा उत्रिएका छन् ।