Spread the love

काठमाडौं। नेपाली चलचित्र ‘महाजात्रा’ शनिवार ५१औँ दिनमा प्रवेश गरेको छ। २०८० चैत ९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्रको ५१ दिने कार्यक्रम आयोजना गर्दै सफलताको केक काटिएको छ। काठमाडौंको सुनधारास्थित सिभिल मलको क्यूएएक्स सिनेमामा पत्रकारहरूलाई साक्षी राख्दै चलचित्रको टिमले खुसी साटेको हो।

यस चलचित्रका अभिनेता हरिवंश आचार्यले यो चलचित्र ५१ दिनसम्म पुग्नु नेपाली चलचित्रको सफलता रहेको बताए। उनले भने, “अहिले नेपाली चलचित्रको माहौल नै राम्रो बनिरहेको छ। नेपालमा नेपाली चलचित्र प्रतिको माया बढिरहेको छ।”

अभिनेता दिव्य देवले आफ्नो करियरको सबैभन्दा सफल चलचित्र बनेकोमा दर्शकलाई धन्यवाद दिए। अर्का अभिनेता रवीन्द्र झाले पनि दर्शकलाई धन्यवाद दिए। निर्देशक प्रदीप भट्टराई, अभिनेत्री वर्षा राउत र अभिनेता रवीन्द्र सिंह बानिया भने नेपाल बाहिर रहेको कारण उपस्थित भएनन्।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले सिरिजकै रूपमा निर्माण गरेको यो चलचित्रले पनि अघिल्ला फिल्म झैँ यसले पनि ५१ औँ दिनको यात्रा पार गरेको हो। यसले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगन्जमा रहेको सिन रोयलमा ५१ औँ दिनको यात्रा पार गरेको हो।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन बनेको यस चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका यस चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्।

By News

Leave a Reply

Your email address will not be published. Required fields are marked *