तुलसीपुर, ६ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी आर्थिक वर्षदेखि टरिगाउँ एयरपोर्ट विस्तारको काम सुरु हुने बताउनुभएको छ । प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । तुलसीपुरको एयरपोर्ट विस्तारको काम अगाडि बढाउनुपर्छ भन्ने सुझाव वर्तमान सरकारलाई दिएकाले अबको नीति तथा कार्यक्रम र बजेटमा यसले प्राथमिकता पाउने महासचिव पोखरेलले बताउनुभयो । काँग्रेस सत्तामा भएकै बेला आएको प्राविधिक टोलीले टरिगाउँ एयरपोर्ट भन्दा नारायणपुर उपयुक्त भन्ने रिपोर्ट दिएको महासचिव पोखरेलले बताउनुभयो ।
‘केपी ओली प्रधानमन्त्री हुँदा एयरपोर्ट विस्तारको योजना हामीले अघि सारेका थियो । नौ महिना पछि सरकार परिवर्तन भएर काँग्रेस सत्तामा गयो । कांग्रेसकै नेता पर्यटनमन्त्री थिए । त्यो कुरा तपाईँलाई पनि थाहा होला । त्यसबेला पठाएको प्राविधिक टोलीले टरिगाउँमा एयरपोर्ट बन्दैन भन्ने निष्कर्ष निकाल्यो र उसैले यो भन्दा नारायणपुर उपयुक्त छ भनेर प्रतिवेदन दिने काम ग¥यो ।
त्यसैका आधारमा नारायणपुरमा अध्ययनको काम सुरु भयो । जसले गर्दा दाङ एक खालले भन्ने हो भने जनमतका हिसाबले विभाजनको अवस्थामा पुग्यो ।’ महासचिव पोखरेलले भन्नुभयो । एयरपोर्टको उत्तर दक्षिण १५ सय मिटरको धावन मार्ग विस्तार गर्न सकिन्छ भन्ने तुलसीपुर उपमहानगरपालिकाले गरेको अध्ययनका आधारमा यस वर्ष बजेट पर्ने आगामी आर्थिक वर्षदेखि काम पनि सुरु हुने उहाँले बताउनुभयो । पत्रकार भेटघाट कार्यक्रममा चौतारीका अध्यक्ष प्रेम बहादुर राम्जाको अध्यक्षतामा भएको थियो ।