दाङ , जेठ ७ । नेकपा एमाले दाङको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ । घोराहीस्थित जिल्ला पार्टी कार्यालयमा सोमबार बिहानदेखि जारी अध्यक्ष मण्डलको बैठकले शिबकुमार अध्यक्षको नेतृत्वमा १२४ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । आचार्य एमाले महासचिव शंकर पोख्रेलका बहिनी ज्वाँइ हुन । आचार्यकी श्रीमति मेनका समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य हुन ।
स्रोतका अनुसार जिल्ला उपाध्यक्षमा यसअघिका सचिव मनोहर बुढाथोकी रहेका छन् । सचिवमा तुलसीपुर – १२ का पूर्व अध्यक्ष श्याम डाँगी चयन गरिएका छन् ।
त्यस्तै उपसचिवमा बबइ गाउँपालिकाका पूर्व अध्यक्ष भूवनेश्वर पौडेल र गढवा गाउँपालिकाकी उपाध्यक्ष सीता चौधरी चयन गरिएका छन् । यी बाहेक अन्य सबै सदस्य हुन ।
यद्यपी यसको निर्वाचन कमिटीले औपचारिक रुपमा सार्वजनिक गरि सकेको छैन । निर्वाचन कमिटीको संयोजक ठाकुर डिसीले त्यसको केही बेरमै घोषणा गर्ने तयारी गरि रहेको स्रोतले बतायो ।
जिल्ला नेतृत्व चुन्न स्थायी कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको नेतृत्वमा जिल्लामा उपलब्ध केन्द्रीय सदस्यहरु सदस्य रहेको कमिटी बनाइएको थियो ।
त्यो अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य तथा यसअघिका तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, केन्द्रीय सदस्य तथा पूर्व सांसद शान्ता चौधरी, पूर्व राष्ट्रियसभा सदस्य कोमल वली, पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य लक्ष्मण आचार्य, सीता सिग्देल, केन्द्रीय सदस्य अनारकली मिया लगाएतका नेताहरु थिए ।
यसअघि पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको जिल्ला अधिबेशन उद्घाटन गर्न आउने तयारी गरिएको भएपनि केन्द्रमा भइ रहेको राजनीतिक उथुलपुथलका कारण अन्तिम समयमा रोकिएको थियो । त्यसपछि महासचिव पोख्रेल आँफै गृहजिल्लाको पार्टी अधिबेशन उद्घाटन गर्न दाङ आएका थिए ।