काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवम गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै काठमाडौंमा सडक प्रदर्शन गर्ने भएको छ । आज बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारीको रकम अपचलन गरेको आरोप लागेको उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आफैँ गृहमन्त्री भएपछि आफूमाथि भइरहेको अनुसन्धान रोकेको र प्रमाण नष्ट गर्न भूमिका खेलेको भन्दै संसदीय छानबिन गर्नुपर्ने निष्कर्ष निकाल्दै सडक आन्दोलनमार्फत दबाब दिने निर्णय गरेको कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।
पार्टीले लामो समयदेखि संसद्मा यो माग राखे पनि सरकारले बेवास्ता गरेको तथा सभामुखले तटस्थ भूमिका निर्वाह नगरेको र सरकार अधिनायकवादतर्फ उन्मुख भएको निष्कर्ष निकालेको उहाँले बताउनुभयो ।।