घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्थापनाको ७ वर्षपछि एमबीबीएस तहको अध्यापन गराउने तयारी तीव्र पारेको छ ।
प्रतिष्ठानले आगामी शैक्षिक सत्रदेखि अध्यापन गराउने गरी एमबीबीएस कार्यक्रमको पाठ्यक्रमको प्रारूप तयार पारेको छ । धुलिखेलमा शनिबारबाट जारी चिकित्सा शिक्षा आयोगसहित आठवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यशालाले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रुप दिइने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानले यही शैक्षिक सत्रदेखि नै एमबीबीएस कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ । त्यसका निम्ति चिकित्सा शिक्षा आयोगबाट हुने सेल्फ अप्राइजल पास, अत्याधुनिक ल्याब, पूर्वाधार तथा जनशक्तिको तयारीमा प्रतिष्ठान जुटेको छ । एमबिबिएसकै लागि फ्याकल्टी निर्माणदेखि लेक्चरर, असिस्टेन्ट प्रोफेसर, एसोसिएट प्रोफेसर र प्रोफेसरलाई धमाधम प्रतिष्ठानमा ल्याउने काम भइरहेको रजिष्ट्रार लम्सालले बताउनुभयो ।
ुसकेसम्म यही शैक्षिक सत्रदेखि एमबीबीएस कक्षा सञ्चालनको तयारी गरेका छौँ, त्यसको एउटा महत्वपूर्ण पाटो पाठ्यक्रम हो, पाठ्यक्रम निर्माण भइसकेको छ, अव अन्तिमरूप दिदैँछौु लम्सालले भन्नुभयो । प्रतिष्ठानले अहिले भएकै जनशक्तिबाट एमबीबीएस अध्यापन गर्ने तयारी गरेको छ भने प्रयोगशाला, कक्षा कोठालगायतका पूर्वाधार भने थप गर्न लागिएको उहाँको भनाइ छ । प्रतिष्ठानले अहिले एमडी–एमएस, नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेको प्रतिष्ठानका उपकुलपति डा। विकास लामिछानेले जानकारी दिनुभयो ।
२०७४ सालमा प्रतिष्ठानको ऐन जारी भए पनि सुरुवाती पाँच वर्षसम्म कुनैखालको शैक्षिक कार्यक्रम प्रतिष्ठानले सञ्चालन गर्न सकेको थिएन । उपकुलपति लामिछाने नेतृत्वमा आएपछि प्रतिष्ठानमा शैक्षिक कार्यक्रमहरू अघि बढेका छन् । यसैबीच कार्यशाला गोष्ठीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत देशभरका ८ वटा प्रतिष्ठानका उपकुलपतिहरूले साझा विषयमा सहकार्य गर्ने लिखित समझदारी गरेका छन् । प्रतिष्ठानका रजिष्ट्रार लम्सालले शिक्षा, सेवा, जनशक्ति व्यवस्थापन र अनुसन्धानको क्षेत्रमा आपसी सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको बताउनुभयो । उहाँले पाठ्यक्रमलाई अन्तिमरूप दिन सबै प्रतिष्ठानका विज्ञ चिकित्सकसहितको कार्यदल बनाइने बताउनुभयो ।