एकराज भण्डारी,बिहिबार, श्रावण २९, २०८२,तुलसीपुर । कार्यालय भवनभित्र पसेपछि उत्तरतर्फको भित्तामा टाँडी बनाएर स्थानीयस्तरमा उत्पादित उपभोग्य वस्तु, सजावटका वस्तुहरु तथा दैनिक जीवनमा प्रयोग हुने घरायसी सामग्रीहरु राखिएका छन् । दाङमै उत्पादन भएको तिल्की र सिम्ठारोको चामल, यहींका उद्यमीले उत्पादन गरेको मह, अचार, सातु, सिन्की, बाँस, काँस र मुजबाट बनेका विभिन्न सामग्रीहरु तुलसीपुर उद्योग वाणिज्य संघको कार्यालयमा सजाएर राखिएको छ । सामान्यतया हेर्दा यी सामग्रीहरु सजावटका लागि राखिएको जस्तो देखिन्छ तर यो स्थानीयस्तरमा भएको उत्पादनलाई बजारीकरण गर्दै उद्यमीहरुलाई प्रोत्साहन गर्नका लागि तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको कोसेली घर हो ।
राज्यका विभिन्न निकाय तथा अन्य गैरसरकारी संस्थाहरुले पनि विभिन्न खालका तालिम दिने र उत्पादन गर्न प्रेरित गर्ने तर त्यसको बजारीकरणमा कसैको पनि ध्यान नपुग्दा उत्पादन लागतसमेत नउठ्ने गरेको उद्यमीहरुबाट गुनासो आएपछि आफूहरुले कोसेली घरको अवधारणा अगाडि बढाएको तुलसीपुर उवासंघका अध्यक्ष विनिल केसीले बताउनुभयो । ‘हामीले सीप सिकाउने र उद्यमी बनाउने कुरामा मात्रै जोड दियौं । धेरै उद्यमीहरु तयार पनि हुनुभयो तर उत्पादित वस्तुलाई बजारसँग जोड्ने कुरामा हाम्रो ध्यान पुग्न सकेन । जसले गर्दा उद्यमको क्षेत्रमा बामे सर्दै गर्दा नै निराशा हुने अवस्था देखियो’– उहाँले भन्नुभयो– ‘त्यसपछि हामीले तुलसीपुर मात्रै होइन, दाङ जिल्लाभर विभिन्न खालका उद्यममा जोडिएका व्यक्ति तथा समूहहरुको लगत राख्यौं । त्यसपछि उहाँहरुको उत्पादनको बजारीकरण गरिदिने उद्देश्यका साथ कोसेली घर स्थापना गरेर उहाँहरुका उत्पादन निःशुल्करुपमा राखिदिएका छौं र बजारीकरणको प्रयास थालेका छौं ।’

अहिले उवासंघले त्यस्ता उद्यमीहरुसँग सम्पर्क गरेर आफ्नो उत्पादन कोसेली घरमा ल्याउन अनुरोध गरिरहेको छ भने केहीले आफ्नो उत्पादन ल्याएर राखिसकेका छन् । यी उत्पादनको बिक्रीका लागि विभिन्न व्यावसायिक निकायहरुसँग छलफल भइरहेको अध्यक्ष केसीले जानकारी दिनुभयो । ‘शुरु–शुरुमा बजारीकरण अलि झन्झटिलो हुन्छ, त्यसैले सबै उद्यमीहरु यसबारे जानकार हुनुहुन्न । हामीले पहिलो चरणमा उहाँहरुको उत्पादनलाई शुन्य नाफामा बजारीकरण गरिदिन्छौं । त्यसपछि उद्यमी र बजार सिधै जोडिने वातावरण बनाइदिने योजनामा छौं’– उहाँले भन्नुभयो– ‘उद्यमशीलताको अर्थ उत्पादन मात्रै होइन, बिक्री र त्यसबाट केही नाफा कमाउने पनि हो । त्यसका लागि वातावरण बनाइदिने राज्य र सरोकारवाला निकायले हो । उवासंघ उद्योगी तथा व्यवसायीहरुको संगठन भएकोले यो जिम्मेवारी हाम्रै हो भन्ने सोचका साथ यो अभियानको थालनी गरेका छौं ।’

अहिले बाँस, काँस, मुज, थाकलजस्ता वस्तुबाट गरिएका उत्पादनको खपतका लागि यहाँका फोटो स्टुडियो, पूजा सामग्री पसल तथा विभिन्न संघ संस्थासँग समन्वय गरिरहेको र बाँसबाट उत्पादित सामग्री दाङकै बजारमा खपत हुने अवस्था रहेको अध्यक्ष केसीले बताउनुभयो । ‘बाँसबाट फोटो फ्रेमहरु बन्छन्, फूल राख्ने टोकरीहरु बन्छन् । त्यस्तै काँस, मुज र थाकलबाट बनेका सामग्रीहरु उपहार तथा मायाको चिनो दिन सकिन्छ । त्यसैले यीसँग सम्वद्ध व्यवसायीहरुसँग समन्वय गरिरहेका छौं’– उहाँले भन्नुभयो– ‘पूर्वतिरका जिल्लाहरुमा कोसेली घरको अभ्यास भएको र स्थानीय सरकारले पनि कोसेली घर सञ्चालनको जिम्मा उद्योग वाणिज्य संघलाई नै दिने गरेका छन् तर तुलसीपुरमा त्यसो हुन सकेको छैन । त्यसैले उवासंघले नै कोसेली घर स्थापना गरेर व्यवसायीहरुलाई प्रोत्साहन गर्न जोड दिएको हो ।’ अध्यक्ष केसीले जिल्लाको जुनसुकै ठाउँमा उद्यम गरिरहेका उद्यमीहरुले आफ्नो उत्पादन कोसेली घरमा राख्न सक्ने र त्यसको बजारीकरणमा उवासंघले सहयोग गर्ने बताउनुभयो ।
उवासंघको यो अभियानले आफूहरुलाई प्रोत्साहन गरेको उद्यमीहरु बताउँछन् । घोराही–१० सौडिकुलाकी गीता रावतले चार वर्ष अघिदेखि अचार उत्पादन थाल्नुभएको हो । अहिले तुलसीपुर उवासंघले नै फोन गरेर आफ्नो उत्पादन ल्याएर कोसेली घरमा राख्न अनुरोध गर्दा आफू निकै खुशी भएको उहाँले सुनाउनुभयो । ‘मैले घोराही उद्योग वाणिज्य संघमा कोसेली घरको स्थापना गरिदिनुप¥यो भनेर पटक–पटक कुरा राखें तर सुनुवाइ नै भएन । अहिले तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नो कोसेली घरमा राखेर बजारीकरण गरिदिएको छ । ठाउँ–ठाउँबाट फोन आउँछ । व्यापार पनि बढेको छ’– उहाँले भन्नुभयो– ‘अहिले विदेशबाट पनि अचारको माग हुन थालेको छ । अरु श्रम बेच्न विदेश जान्छन्, म आफ्नो उत्पादन विदेशमा बेच्ने सोचमा छु । उद्यमीहरुलाई सरोकारवाला निकायहरुले प्रोत्साहन गर्ने हो भने धेरै मान्छेहरुले आफ्नै ठाउँमा केही गर्ने आँट गर्ने थिए ।’









