काठमाण्डौ, १६ असार । नेपाली काँग्रेसबाट निर्वाचित काठमाडौंको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना तोकिएको छ । घुस–रिसवत लिएकोसम्बन्धी कसुरमा मेयर बस्नेतलाई विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको संयुक्त इजलासले आज आठ वर्ष कैद सजायको फैसला सुनाएको हो । बस्नेतले नगरपालिकाजस्तो सार्वजनिक ओहोदाको पदमा बसेर कसुर गरेको ठहर गर्दै थप तीन महिना कैद सजाय गर्ने निर्णय पनि गरेको छ ।
विशेष अदालतले उनलाई घुस दिने पद्मा कोलोनी प्रालिका सञ्चालक राजु कँडेललाई पनि घुस दिएको आरोपमा दोषी ठहर गरेकोमा आठ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । पद्मा कोलोनी प्रालि एवं पद्मा मर्चेन्ट कम्पनीलाई लाभ हुनेगरी निर्णय गरेबापत प्रमुख बस्नेतले घुस लिएको अख्तियारको दाबी गरेकोमा विशेष अदालतले ती दुई कम्पनीलाई पनि बिगो तिराउने फैसला गरेको हो ।
उनीहरु दुवै जनालाई २ करोड ३० लाख ६१ हजार ५०८ रुपैयाँ आठ पैसा जरिवाना हुने पनि फैसला गरेको छ । त्यस्तै, सम्पत्ति शुद्धिकरण मुद्दामा बस्नेतलाई तीन वर्ष कैद र २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । यसमा पनि राष्ट्रसेवकले गरेको सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा बस्नेतलाई थप दश प्रतिशत सजाय तोकिएको छ ।
कैदतर्फ ठहर भएको तीन वर्षको दश प्रतिशत सजाय तीन महिना १८ दिन र जरिवानातर्फ २६ करोड २५ लाख ४६ हजार ६४ रुपैयाँको थप दुई करोड ६२ लाख ५४ हजार ६०६ रुपैयाँ तोकिएको हो । साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा ३ बमोजिम मेयर बस्नेतबाट १ करोड ५ लाख १ हजार ४२ रुपैयाँ ५८ पैसा र कडेँलबाट ९ लाख २२ हजार ४६० रुपैयाँ ३२ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ । घुस–रिसवत लिई भ्रष्टाचार गरेको तथा सम्पत्ति शुद्धिकरण मुद्दामा गत असार ६ गते उनलाई विशेष अदालतले दोषी ठहर गरेको थियो । उनलाई कैद र जरिवाना सजाय तोक्न आज पेशी तोकिएको थियो ।