उद्योग वाणिज्य संघले व्यवसायीहरूको आवाज सरकारसम्म पुर्‍याउन ‘पुल’को भूमिका खेल्दै आएको छ,पूर्व अध्यक्ष बिमल रिजाल

Spread the love

फोहोर व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया

दाङको तुलसीपुरमा उद्योग प्रतिष्ठानहरूबाट निस्कने फोहोरको व्यवस्थापन विषयक एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

लुम्बिनी प्रदेश सामाजिक विकास डिभिजन अन्तर्गतको ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’को प्राविधिक सहयोग तथा तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सहभागी व्यवसायी शकर केसीले आफूले अहिलेसम्म घरबाट निस्कने वस्तुलाई मात्र फोहोर ठानेको तर उद्योगभित्र प्रयोगमा नआउने सामग्री पनि फोहोरकै श्रेणीमा पर्ने कुरा आज थाहा पाएको बताए। उनले अबदेखि यस्ता फोहोरको व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याउने प्रतिवद्धता जनाए।

कार्यक्रमका प्रमुख अतिथि तथा संघका पूर्व अध्यक्ष बिमल रिजालले संघले साना तथा मझौला उद्योग व्यवसायीहरूको आवाज सरकारसम्म पुर्‍याउने ‘पुल’को भूमिका खेल्दै आएको बताए। फोहोर व्यवस्थापन संघ, प्रदेश र स्थानीय सरकारको प्रत्यक्ष सरोकारको विषय भएतापनि हाल निजी क्षेत्रले नै यसको बोझ उठाइरहेको उल्लेख गर्दै उनले भने, “स्थानीय सरकारले हामीबाट फोहोर व्यवस्थापनबापत शुल्क त लिन्छ, तर त्यो फोहोर किनेर लिँदैन। सरकारको जिम्मेवारी पूरा गरिएको छैन।”

इन्सोर परियोजनाका प्राविधिक संयोजक राजकुमार लेखी महरले सीप विकास बिना उद्योग तथा व्यवसायको समुचित विकास सम्भव नभएको बताए। परियोजनाबारे जानकारी दिँदै उनले तुलसीपुर उद्योग वाणिज्य संघको सहकार्यमा विभिन्न सव(स्किलका तालिम सञ्चालन गर्दै आएको बताए।

उनले उद्योग व्यवसायलाई उत्पादनमुखी बनाउने, श्रम बजारले माग गर्ने क्षमताको विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै, व्यवसायीहरू समयानुकूल परिमार्जित हुन जरुरी रहेको बताए।

महर्जनले कार्यक्रमको मुख्य उद्देश्य फोहोरलाई पुनः प्रयोग तथा पुनः उत्पादनमा रूपान्तरण गर्ने उपायहरूमाथि जानकारी दिनु रहेको उल्लेख गरे। साथै, यो तालिमपछि छानिएका उद्योगहरूमा आगामी वर्ष प्रत्यक्ष रूपमा प्रयोगात्मक कार्य सञ्चालन गर्ने योजना रहेको जानकारी पनि दिए।

संघका अध्यक्ष बिनिल केसीले मोफसलका व्यवसायीहरू बहुराष्ट्रिय कम्पनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइसकेको उल्लेख गर्दै, प्रयोगमा नआएका सामग्रीलाई पुनः प्रयोगमा ल्याउन सके उत्पादन वृद्धि हुने र सोही अनुसार प्रत्यक्ष मुनाफा पनि प्राप्त हुने बताए।

संघका सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *