फुलखेतीमा नेपाल आत्मनिर्भर बन्दै

Spread the love

काठमाण्डौँ, ३१ असोज । तिहारको चहलपहल शुरु भएसँगै फूल किनबेच बढेको छ । फूल र रङको पर्वको रूपमा रहेको तिहार नजिंकिदै गर्दा फूलको किनबेच बढेको हो । पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ । नेपालमा २०११ सालदेखि सामान्य रूपमा फूलखेती हुँदै आए पनि २०५० सालको दशकपछि भने यसले व्यावसायिक रूप धारणा गरेको हो । पछिल्लो एक दशकयता नेपालमा फूलको व्यावसायिक खेती गर्नेको सङ्ख्या बढ्दो छ । पुष्प व्यवसायबाट मनग्य आम्दानी हुने भएपछि कृषिका अन्य क्षेत्रसँगै पुष्पखेती गर्नेको सङ्ख्या बढ्न थालेको हो । यस्तै, फूलको प्रयोग धेरै हुने भएकाले तिहारलक्षित फूलखेती गर्नेको सङ्ख्या बढ्दै गएको छ । छोटो समयमा पर्याप्त आम्दानी हुने भएकाले तिहारमा प्रयोग हुने सयपत्री र मखमलीको व्यावसायिक खेती हुने गरेको छ ।

विशेषगरी तिहारमा फूलको व्यापार धेरै हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताउनुभयो । बढ्दो शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहर तथा देशका ५२ जिल्लामा पुष्पखेती भइरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । देशभरका झन्डै दुई सय ७० हेक्टर क्षेत्रफलमा पुष्पखेती गरिएको छ । पुष्प व्यवसायमा आठ अर्ब ८३ करोडभन्दा धेरैको लगानी रहेको र ५३ हजार पाँच सय व्यक्तिलाई रोजगार प्रदान गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० प्रतिशतभन्दा धेरै रहेको छ । नेपालमा उत्पादन हुने फूल जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, यूएईलगायत देशहरुमा निर्यात हुँदै आएको एसोसिएसनले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *