एकराज भण्डारी,श्रावण ८,देशमा चरम द्वन्द्व चलिरहेको बेला शान्तिको सन्देश दिने उद्देश्यले २०५९ सालमा तुलसीपुर–७ गणेशपुरमा रहेको गणेश सामुदायिक वनको केही भागमा उद्यान निर्माण गरिएको थियो । जो अहिले दाङको एउटा प्रमुख पर्यटकीय गन्तव्य बनेको छ भने राप्ती शान्ति उद्यानको नामले देशभरमै परिचित छ ।
यो उद्यानका कारण स्थानीयहरुले विभिन्न व्यवसायमा आवद्ध भएर आफ्नै ठाउँमा स्वरोजगार बन्ने अवसर पनि पाएका छन् । उद्यानमा अहिले दैनिक पाँच सयको हाराहारीमा आन्तरिक तथा बाह्य जिल्लाहरुबाट पर्यटकहरु आउने गरेका छन् । शनिबार र बिदाको दिनमा दुई हजार पाँच सयसम्म पर्यटकहरु भित्रिने गरेको उद्यान सञ्चालक समितिका अध्यक्ष डिल्लीराज भण्डारीले जानकारी दिनुभयो । यो उद्यानमा विभिन्न जनावरहरुका स्ट्याचु, चिडियाखाना, बाल उद्यान, घोड सवारी, डुंगा सयरलगायतका मनोरञ्जनका साथै छेउमै रहेको जंगलको मनोरम दृष्य अवलोकन गर्न आउनेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । पछिल्लो समय तीनै तहका सरकारबाट पनि विभिन्न समयमा बजेट विनियोजन भएर उद्यानको रौनक फेरिदै गएको छ । २०७५ साल यता मात्रै उद्यानमा करिब चार करोडको हाराहारीमा बजेट भिœयाउन सफल भएको अध्यक्ष भण्डारीले बताउनुभयो । केही वर्षयता उद्यानमा प्रवेश शुल्क वापत ५० रुपैयाँ लिइने गरेको छ, यो ठूलो रकम नहोला तर यसबाटै उद्यानले दैनिक हजारौं रुपैयाँ आम्दानी गरेर आफूलाई अब्बल सावित गरेको छ । अध्यक्ष भण्डारीले भन्नुभयो– ‘उद्यानको आकर्षण बढिरहेको छ । वैशाख १ गते मात्रै उद्यानमा १३ हजार पर्यटकले अवलोकन गरेका छन् ।’
तुलसीपुर–१८ मा रहेको रानी ताल पनि पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । केही वर्षअघि खोल्साको रुपमा रहेको यो ठाउँमा अहिले वृहत् सिंचाईले लाखौं रुपैयाँ खर्चेर कृत्रिम जलाशय बनाएको छ । जलाशय अहिले सिंचाई सुविधासँगै पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । यसलाई अझै व्यापक बनाउन भूमिका खेलेको छ, डुंगा सयरले । गत कार्तिकमा तुलसीपुर उपमहानगरपालिका पर्यटन प्रवद्र्धन शाखामार्फत् यो तालमा सञ्चालन गर्नका लागि डुंगा उपलब्ध गराइएको छ । उक्त डुंगा रानीताल ड्याम संरक्षण समितिमार्फत् सञ्चालन भइरहेको समितिका अध्यक्ष गोविन्द नेपालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘पहिला केही समय निःशुल्क चलायौं, अहिले केही शुल्क उठाउने गरी एकजनालाई सञ्चालनको जिम्मा दिएका छौं । पर्यटकहरु आउनेक्रम पनि बढेको छ । बिदाको समयमा दैनिक दुई सय ५० जनासम्म आउनुहुन्छ, अघिपछि पनि २५÷३० जनाले डुंगा सयर गर्छन् ।’
त्यस्तै इतिहास बोकेको तुलसीपुर–१० गौरीगाउँको गौरीतालमा पनि बृहत सिंचाई, जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय तथा स्थानीय सरकार गरी करोडौं रुपैयाँ लगानी भएको वडाध्यक्ष यमराज केसीले बताउनुभयो । गत कार्तिकमा यो तालमा पनि सञ्चालन गर्नका लागि पालिकाको पर्यटन शाखाले डुंगा उपलब्ध गराएको छ । त्यो त्यति प्रभावकारी हुन सकेको छैन । त्यस्तै वडा नं. ४ को चमेरे गुफा, वडा नं. ६ को कमल पोखरी क्षेत्र, वडा नं. ९ को नवदुर्गा ग्रीन पार्क, वडा नं. ११ को सुकौराकोट दरबार क्षेत्र, वडा नं. १३ को जन्ती ढुंगा, १९ नं. वडाको छिल्लीकोट तथा विभिन्न वडामा रहेका तालहरुलाई तुलसीपुर उपमहानगरपालिकाले पर्यटकीय क्षेत्रको रुपमा उल्लेख गरेको पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले बताउनुभयो । ‘यी ठाउँहरुलाई तुलसीपुर उपमहानगरपालिकाले पर्यटकीय स्थलको रुपमा हेरेको छ, लगानी पनि गरेको छ तर स्थानीय सरकारको नीतिअनुरुप सूचीकृत हुनसमेत आउँदैनन् । सूचीकृत हुन आएपछि पो सरकारले त्यसको प्रवद्र्धनमा अझ धेरै चासो दिने हो’– उहाँले भन्नुभयो– ‘हामी अहिले ती क्षेत्रहरुलाई सूचीकरण तथा करको दायरामा ल्याउने प्रयासमा छौं । सरकारबाट बजेट विनियोजन भएर विकास भएका ठाउँको नियमानुसार कर तिर्नुपर्छ तर लाखौं आम्दानी गर्ने पर्यटकीय स्थलले पनि कर तिर्दैनन् । अब कडा कदम चाल्ने अवस्था आइसकेको छ ।’

तुलसीपुर उप–महानगरपालिकाले पर्यटन व्यवस्थापन कार्यविधि–२०८० निर्माण गरेको छ । जसमा सबै पर्यटकीय क्षेत्रहरु पालिकामा सूचीकृत हुनुपर्ने र त्यस्ता पर्यटकीय क्षेत्रहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने र सञ्चालनका लागि पालिकाले वडा कार्यालय, टोल विकास संस्था तथा संरक्षण समितिलाई जिम्मा दिने भनिएको छ । त्यस्तै पालिकाको आर्थिक ऐन–२०८२ ले उद्यान, बाल उद्यान, जीप लाइनलगायत सञ्चालन गरेको सम्बन्धित निकायले मनोरञ्जन कर वापत प्रतिटिकट ५ प्रतिशत स्थानीय सरकारलाई बुझाउनुपर्ने भनेको छ तर त्यसरी प्रवद्र्धन गरिएका पर्यटकीय स्थलहरुले आम्दानी गर्न थालेपछि नीतिअनुसार पालिकालाई निश्चित राजस्व बुझाउन आनाकानी गरिरहेको शाखा प्रमुख खरेलले बताउनुभयो ।








