काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। सत्तारुढ दल कांग्रेस र एमालेबीचको सहमति अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्री हेरफेर गरेका हुन्।
मुख्यमन्त्री पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ गराएका छन्। जसअनुसार भागबण्डामा ४र४ जना मन्त्री कांग्रेस र एमालेले पाएको छ ।
पुनर्गठित मन्त्रिपरिषद्मा कांग्रेसबाट जित शेरचन अर्थमन्त्री र नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेका छन् ।
यस्तै, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ बन्दा वन तथा वातावरण नम्डु गुरुङ बनेका छन् । यसअघि अर्थमा डा टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र वनमा भेषबहादुर पौडेल मन्त्री थिए । यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए ।
यसैगरी एमालेबाट गोविन्द बहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री बनेका छन् ।
यसअघि कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए । गण्डकीको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ ।
मन्त्री पद नपाएपछि कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले राजीनामा दिएका छन्।








