काठमाडौं,२ वैशाख, आजदेखि देशभर दोस्रो आर्थिक गणना सुरु हुँदै छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणनाका लागि आवश्यक गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा पुगिसकेका छन्। कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गरिनेछ। यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ।
अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक तथा आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्यांक संकलन गरिने भएकाले यस कार्यमा सबैको सहयोगका लागि आग्रह गरेको छ। गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी, निजी तथा सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रसम्बन्धी आधारभूत विवरण संकलन गरिनेछ।
यस क्रममा देशभर दर्ता भएका तथा नभएका साना–ठूला व्यापार प्रतिष्ठान, रोजगारी सिर्जना गर्ने तथा स्वरोजगारमूलक प्रतिष्ठान, उद्योग, कलकारखाना, व्यापार–व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, साथै सरकारी तथा निजी विद्यालय र अस्पतालहरूको समेत गणना गरिनेछ।
आर्थिक गणनाको पूर्वतयारीअन्तर्गतका काम गत फागुन मसान्तमै सम्पन्न भइसकेका छन्। चैतको सुरुआतमा ७७ जिल्लासहित थप सात गरी ८४ वटा कार्यालय स्थापना गरिएका छन्, जुन आगामी असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।
यसअघि विसं २०७५ मा गरिएको राष्ट्रिय आर्थिक गणनाअनुसार देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान तथा व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक गरिएको थियो।








