२२ असार/ एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित बुन्योदकोर रङ्गशालामा शनिबार सम्पन्न खेलमा निर्धारित ९० मिनेटको समयसम्म दुबै टोलीले ३–३ को बराबरी खेलेपछि निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो। पेनाल्टीमा उज्वेकिस्तानले नेपाललाई ४–२ ले पराजित गर्यो।
नेपालका लागि गीता राना र सविता रानामगरले पेनाल्टीमार्फत गोल गरे पनि सावित्रा भण्डारी ‘साम्बा’को प्रहार बारमा लागेर बाहिरियो भने गोलकिपर अञ्जना रानामगरको प्रहार उज्वेकिस्तानी गोलकिपर एम जोनिमक्युलोभाले बचाइन्।
यस जितसँगै उज्वेकिस्तान पहिलोपटक एसियन कपको मुख्य चरणमा प्रवेश गर्न सफल भएको छ।
खेलको पहिलो हाफमा उज्वेकिस्तानले नेपालमाथि ३–१ को अग्रता बनाएको थियो। घरेलु टोलीका लागि दोस्रो मिनेटमा खाबीबुलेएभाले पहिलो गोल गरिन् भने १२औँ मिनेटमा नेपालकी समिक्षा घिमिरेको आत्मघाती गोलले उज्वेकिस्तानको अग्रता दोब्बर भयो। २४औँ मिनेटमा नेपालका लागि कप्तान सावित्रा भण्डारीले गोल गर्दै अन्तर घटाइन्। तर ३७औँ मिनेटमा सरस्वती हमालको ह्यान्डबल्लको कारण पाएको पेनाल्टीमा मातफुना सोयीमोभाले गोल गर्दै उज्वेकिस्तानलाई पुनः दुई गोलको अग्रता दिलाइन्।
मध्यान्तरपछि ७०औँ र ७१औँ मिनेटमा सावित्रा भण्डारीले लगातार दुई गोल गर्दै नेपाललाई खेलमा फर्काइन्। तर थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
खेलको पहिलो हाफको इन्जुरी समयमा उज्वेकिस्तानकी एन एर्गासेभाले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि दोस्रो हाफमा उनीहरू १० खेलाडीमा सीमित थिए।
नेपालको लागि यो हारले आगामी एसियन कप खेल्ने सम्भावना समाप्त भएको छ।