काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा आएको बाढीमा परेका नेपाली नागरिकको उद्धारका लागि दूतावास मार्फत कूटनीतिक छलफल भएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रवार सामाजिक सञ्जाल मार्फत बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक परेको खबर आफूलाई दुखी तुल्याएको बताउँदै उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको बताएका हुन् ।
उनले लेखेका छन्,‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु। बाढीमा १७ जना भन्दा बढी नेपाली नागरिक पनि परेको खबर आएको छ ।
उनीहरूको उद्धारको लागि दूतावास मार्फत तत्काल कूटनीतिक छलफल भएको भन्दै ओलीले बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।








