कर्णाली विकास बैंकमा भएको सवा तीन अर्ब रुपैयाँको घोटाला प्रकरणमा संलग्न ठहर गरिएका तीन जना अभियुक्तलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ। एक जना भने धरौटीमा रिहा भएका छन्।
कारागार चलानमा परेका व्यक्तिहरूमा बैंकका तत्कालीन अध्यक्ष दयाल मिश्र, वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र संस्थापक अध्यक्ष राजेन्द्रवीर राय रहेका छन्।
उनीहरूलाई उच्च अदालतका न्यायाधीश चन्द्रबहादुर सारु र पुनम सिंह चन्दको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
यसै प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिइएको छ। धरौटी बुझाएपछि उनी रिहा भएका छन्।
घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले अनुसन्धान गर्दै उनीहरूलाई पक्राउ गरेको थियो। सवा तीन अर्ब रुपैयाँ बराबरको आर्थिक अनियमिततामा संलग्न ठहर गर्दै तीन जना मृतकसहित १११ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको थियो। तर, सरकारी वकिल कार्यालयले १०९ जनाविरुद्ध मात्रै मुद्दा दायर गरेको हो।
यसअघि बैंक सञ्चालक समिति अध्यक्ष डा। ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो।
समितिको प्रतिवेदन अनुसार बैंकको अन्य खातामा रहेको रकम र कोर बैंकिङ प्रणालीमा प्रविष्ट रकमबीच ठूलो अन्तर देखिएको थियो। यही आधारमा सीआईबीले थप अनुसन्धान गरी मुद्दा अघि बढाएको हो।








