तुलसीपुर, फागुन १३ । नेपाली काँग्रेस दाङ क्षेत्र नं। ३ का उम्मेदवार दीपक गिरीले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।
तुलसीपुरमा पत्रकार सम्मेलन मार्फत बुधबार उम्मेदवार गिरीले भिजन –१०, सम्बृद्ध दाङ योजना सार्वजनिक गरेका हुन ।
गिरीले आफ्नो ज्ञापन पत्रमा किसानमुखी अर्थतन्त्रलाई सबै भन्दा प्राथमिकता दिएका छन् । कृषीको आधुनिकरण तथा बजारीकरण, किसानलाई सहुलियत ऋण, निशुल्क बिमा कार्यक्रम, पशु मोवाइल हस्पिटल, कृषी जन्य उत्पादन भण्डारणका लागि कोल्ड स्टोर निर्माण, सिंचाइ, मल, बीउको सहज उपलब्धता जस्ता कुराहरुमा जोड दिइएको छ ।
रोजगारी र युवा भविश्यका लागि सीपमुलक तालिमसहित स्वरोजगार कार्यक्रम, उद्यमशिलता बिकास, स्थानीय उद्योग, कृषी प्रशोधन र पर्यटन पर्बद्धनमा जोड दिइएको छ ।
शिक्षाको गुणस्तरका लागि सामुदायिक विद्यालय सुधार र प्राबिधिक शिक्षा सुनिश्चितता, गरिब, दलित, अपाङ्गता भएका र जेहेन्दार बिद्यार्थीलाई उच्च शिक्षामा छात्रबृत्ति, अन्तराष्ट्रिय तहका उत्कृष्ट शैक्षिक संस्थाहरु संग शैक्षिक साझेदारी तथा सिकाई आदान प्रदान गर्ने योजना प्रस्तुत गरेका छन् ।
काँग्रेस उम्मेदवार गिरीले आफ्नै पहलमा २०४७ सालमा स्थापना भएको तुलसीपुरको सामुदायिक क्याम्पस राप्ती बबई क्याम्पसलाई प्रबिधिमैत्री र अत्याधुनिक क्याम्पसको रुपमा बिकास गर्ने उल्लेख गरेका छन् ।
सुलभ स्वास्थ्य सेवाका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको स्तरबृद्धि गरि बिषेशज्ञ सेवा बिस्तार, आधारभूत स्वास्थ्य सेवा थप प्रभावकारी बनाउँदै निशुल्क बनाउने, स्वास्थ्य चौकीहरुको सृदृढीकरण गरि बिषेशज्ञ सेवा विस्तार गर्ने योजना अघि सारेका छन् ।
त्यस्तै सुत्केरी आमा, बालबालिका, जेष्ठ नागरिकको स्वास्थ्य उपचारमा बिषेश ध्यान, बिमाको सहज तथा प्रभावकारी कार्यान्वयमा जोड दिइएको छ ।
प्राथमिकताका आधारमा सडक पूर्वाधारको बिकास तथा स्तरउन्नति, ग्रामीण बस्ति बिकासका लागि सडक सञ्जाल बिस्तार तथा आवश्यक पूर्वाधार बिकास गर्ने, मोटरेबल पुल, झुलुङ्गे पुल गरि यातायातको सहज पहुँच बिस्तार गर्ने, ग्रामीण भेगमा खानेपानी, सिंचाइ र बिद्युत विस्तारमा ध्यान दिने काँग्रेस उम्मेदवार गिरीले बताएका छन् ।
सञ्चार र प्रबिधिको बिकासका लागि ती क्षेत्रको आधुनिकरण, एआई सेवा सक्षम बनाउने, ग्रामीण क्षेत्रमा आधुनिक सञ्चार सेवाको पहुँच विस्तार, शैक्षिक संस्था एवं विद्यार्थीका लागि निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने कुरा उल्लेख गरेका छन् ।
सुशासन र सामाजिक न्यायका लागि भ्रष्टचार बिरुद्ध शून्य सहनशिलताको नीति अख्तियार गर्ने, छिटो पारदर्शी र जबाफदेही सेवा विस्तारका लागि नीति निर्माण गर्ने, सुरक्षित बस्ती बिकासका लागि तटबन्ध कार्यक्रम, बाढी पहिरो तथा डुवान नियन्त्रणका लागि योजना अघि सारेका छन् ।
उम्मेदवार गिरीले बाँके राष्ट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्र दंगीशरण गाउँपालिका वडा नं। १ अन्तरगत पर्ने बस्तिहरु र बबई गाउँपालिका – १ अन्तगत पर्ने गंगटे, मलै लगाएतका मानव बस्तिहरु स्थान्तरणका लागि संघीय सरकार मार्फत पहल गर्ने वाचापनि गरेका छन् ।
ती क्षेत्रका स्थानीयले वन्यजन्तुको जोखिम बढेको भन्दै बस्ति स्थान्तरणको माग गर्दै आएका छन् । स्थानीयले त्यस्तो आश्वासन नपाएसम्म मतदान बहिस्कार गर्ने चेतावनी दिदै आएका छन् ।
काँग्रेस उम्मेदवार गिरीले निकुञ्ज मध्यबर्ती क्षेत्रको बस्ति स्थान्तरणका लागि आँफुले संघ सरकार मार्फत पहल गर्ने आश्वासन दिएका छन् ।
त्यस्तै ब्यापार ब्यबसाय पबद्र्धनका लागि लगानी मैत्री वाताववरण निर्माणका लागि नीतिगत योजना, नयाँ उद्योग स्थापना तथा स्थानीय स्तरमा रोजगारी पर्बद्धनमा जोड, हरित योजनाका लागि आवश्यक पहल, साना उद्योग तथा आयआर्जनका क्रियाकलापहरुको संरक्षण पबद्र्धनको योजना, उद्योगी ब्यबसायीका लागि सहज तथा सुलभ बित्तिय पहुँच, ब्यबसायिक कृषी तथा पशुपालनका क्षेत्रमा निशुल्क बिमा र उत्पादनको आधारमूल्य बिक्री सुनिश्चितताको प्रबन्ध, आधुनिक प्रबिधिको प्रयोग तथा कृषी औजारको खरिदमा सहज अनुदानको ब्यबस्था आदि छन् ।
पर्यटन बिकासका लागि थारु कला संस्कृति संरक्षण तथा पबद्र्धनमा जोड दिने उल्लेख गर्दै नेपाली काँग्रेस दाङ क्षेत्र र्न। ३ का उम्मेदवार दीपक गिरीले दंगीशरण दरबार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा बिकासका गर्ने उल्लेख गरे ।
त्यस्तै राजाकोटमा भिजिटर र हाइकिङ स्टेशनको स्थापना, इको टुरिज्म बिकासका लागि वन, ताल, पार्क जस्ता संरचनाहरुको बिकास, दाङको गौरवका रुपमा रहेको टरिगाउँ एयरपोर्टको स्तरउन्नतिको लागि निरन्तर पहल गर्ने तथा धार्मिक पर्यटनका लागि तुलसीपुर – ३ स्थित कालभैरव मन्दिरको स्तरउन्नति गर्ने जस्ता कुराहरु अघि सारेका छन् ।








