दाङको राप्ती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले अस्पतालभित्र काम गर्ने सहज वातावरण नभएपछि राजीनामा दिएको स्पस्ट पारे। ‘जिम्मेवारी लिएको दुई वर्ष पनि भयो, अरु साथीहरुलाई पनि काम गर्ने अवसर दिनु पर्यो’,उनले भने ‘काम गर्ने सहज वातावरण पनि भएन, काम नै गर्ने वातावरण नभएपछि पदमा बस्नु पनि उचित हुँदैन, भनेर राजीनामा दिएँ ।’
स्रोतका अनुसार अस्पतालको हात्ताभित्र १५ भन्दा बढि सटरहरु छन् । ति सटरहरुको सम्झौता मिति गएको असार मसान्तमा सकिएको छ । त्यसलाई पुनः टेन्डर गर्ने तथा अस्पतालको हाता भित्र रहेको साझा फार्मेसीलाई पनि हटाउने गरि अस्पताल विकास समितिले नै निर्णय गरेको थियो । महेन्द्र लामिछाने अध्यक्ष आएपछि पनि त्यो निर्णय भयो । त्यो भन्दा अघि पनि २र३ पटक यो निर्णय भएको अधिकारीले बताए । तर, म्याद पनि सकिएको र पटक–पटक भएका निर्णय कार्यान्वयन गर्न खोज्दा अबरोध देखिएपछि राजीनामा दिएको स्रोतले बताएको छ ।
‘केही व्यक्तिहरू टेन्डर नगरेर अहिले सम्झौता भएर भाडामा लिएकाहरुलाई नै नवीकरण गर्ने गरि बहस चलेपछि त्यसलाई डाक्टर सावले थेग्न सक्नु भएन नि राजीनामा दिनुभयो’,स्रोतले भन्यो । त्यहाँका सटरको विषयमा निकै चलखेल हुने गरेको छ। टेन्डरको विषय पेचिलो भएकाले पनि राजीनामा आएको हुन सक्ने उनले बताए ।
‘निर्णय नै भइसकेको विषय भएकाले पछाडि हट्न पनि नसकिने भयो’,उनले भने, ‘अगाडि बढ्दा पनि अवरोध धेरै हुने भयो, त्यसलाई पनि थेग्न गाह्रो भयो होला ।’ अहिल्यै साझालाई हटाएमा अस्प्तालले औषधी पनि पुर्याउन नसक्ने भन्दै हटाउन पनि गाह्रो हुने उनले बताए।








