दाङ, १८ साउन । समाज कल्याण केन्द्र नेपाल, दाङले तुलसीपुर उपमहानगरपालिका–१९ कुटेचौरस्थित जनजागरण माविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख आतिथ्यमा शनिवार शिविर आयोजना गरिएको हो ।
शिविर उदघाटन गर्दै मन्त्री न्यौपानेले समुदायमा रोग लुकाएर बसेकाहरूलाई स्वस्थ मानव निर्माण गर्ने अभियानले निरोगी बनाउन सघाउने बताए । पछिल्लो समय नसर्ने रोगका कारण मानिसको जीउज्यानको जोखिम बढ्दै गएको तथा आर्थिक नोक्सानी हुने अवस्था सिर्जना भएको हुँदा हरेकले नियमित स्वास्थ्य जाँच गराउन आवश्यक रहेको बताए ।
समाज कल्याण केन्द्रकी अध्यक्ष निर्मला गौतमले दूरदराजका नागरिकको स्वास्थ्य उपचारमा पहुँच पु¥याउँदै सचेतना जगाउने प्रयास सराहनीय रहेको भन्दै अभियानलाई निरन्तरता दिन आग्रह गरेकी थिइन् । शिविरमा छिमेकी जिल्ला रोल्पाबाट पनि उपचारका लागि सेवाग्राही आएका थिए ।

उक्त शिविरमा स्त्री रोग सेवा, जनरल उपचार सेवा र दन्त रोग उपचार सेवा प्रदान गरिएको थियो । जसमा एक सय ५० जनाले दन्त रोगसम्बन्धी सेवा, एक सय १७ जनाले फिजिसियन उपचार सेवा तथा एक सय २० जनाले स्त्री रोगसम्बन्धी निःशुल्क उपचार तथा औषधी सेवा लिएका छन् ।
शिविरमा उपचारका लागि आएकामध्ये अधिकांश महिलाहरूमा यौन तथा प्रजनन् स्वास्थ्य समस्या पहिचान भएको वरिष्ठ स्त्री रोग विशेषज्ञ डा। प्रविण योगीले बताए । जनरल फिजिसियन बाचस्पति सुवेदी, दन्त रोग विशेषज्ञ डा। भुवनेश्वर भुसालले शिविरमा आएका बिरामीको उपचार गरेका थिए ।

नेपाली कांग्रेस तुलसीपुर–१९ को व्यवस्थापनमा गरिएको शिविरमा रुपनी मेडिकल हल नारायणपुर, मौसम फार्मेसी घोराही, पिप्लद मेडिसेल्स घोराही र कालिका मेडिकल हल घोराहीको सहयोग रहेको थियो ।








